काठमाडौं। पशुपति क्षेत्रको तिलगङ्गाको वाग्मती नदी किनारमा सफाइ गरिएको छ। वाग्मती नदी किनारमा सफाइ गरी साढे तीन मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो।
वाग्मती सफाइ महाअभियानको ४६२ औँ हप्ता एवं तिलगङ्गा महिला समूहको ३६२ औँ हप्ताको वाग्मती सफाइ अभियानका क्रममा त्यस क्षेत्रमा सफाइ गरिएको बताइएको छ।
सफाइमा पूर्व मुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिना, काठमाडौँ महानगरपालिका वडा नं ११ का अध्यक्ष हीरालाल तन्डुकार, तिलगंगा महिला समूह, स्थानीयवासी, विभिन्न सङ्घसंस्था, अधिकारसम्पन्न वाग्मती समितिका कर्मचारी, वाग्मती फोहोर उन्मूलन उपभोक्ता संस्था, काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकु, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड एवं वाग्मती अभियानकर्मीको सक्रिय सहभागिता थियो।
वि.सं २०७० जेड ५ गतेदेखि सुरु भएको सफाइ महाअभियान प्रत्यक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर चलिरहेको छ। जाडो, गर्मि, वर्षा, चाडपर्वलगायतका प्रतिकूल अवस्थामा पनि सरसफाइ अभियान रोकीएको छैन। अहिले राजधानीमा २५ स्थानमा सफाई भइरहेको छ।
यसैगरी काठमाडौं उपत्यका बाहिरका मुख्य सहर, नदी र साँस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको बताइएको छ। राजधानी बाहिर १०९ स्थानमा सफाइ भइरहेको छ।
अभियानकर्मीको सक्रियतामा देशव्यापी रुपमा सफाइ अभियान निरन्तर जारी रहे पनी स्थानीय सरकारको पनि हुनुपर्ने जति सहयोग भएको छैन। फोहोर व्यवस्थापनमा स्थानीय सरकारकै दायित्व रहेको भएता पनि काममा रुची नदेखाएको बताइएको छ।