पर्वत। पुस्तौंदेखिको खानेपानी समस्या भोग्दै आएका फलेबास–३ शंकरपोखरीका करिब १५ सय घरधुरीमा वैशाखभित्रै पानी घरघरमा पुग्ने भएको छ। २०७५ फागुनबाट सुरु भएको लमायखोला लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको हो।
उक्त आयोजनाको काम चैतभित्र सम्पन्न गर्न गण्डकी प्रदेशको उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको हो। उक्त आयोजना दुई वर्षमै सम्पन्न गर्ने गरी सुरु गरिएको थियो, तर तिन वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि मंगलबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव हुन नदिने तर उपभोक्ता समिति र ठेकेदारलाई कुनै बाहना नगरी काम सक्न निर्देशन दिए।
उपभोक्ता समितिका अनुसार आयोजनाको काम २०७५ फागुनबाट सुरु भएतापनि बजेट र कामदार अभावका कारण ढिला भएको हो। अनुगमनमा आएको मन्त्रालयको टोलीसँग समितिले चैतसम्म आयोजनाको काम सकेर एक घर एक धाराको रूपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ।
लमायखोलाबाट लिमिकोटसम्म १५ सय मिटरमाथि पानी तानेर ल्याउने योजना रहेको बताइएको छ। त्यहाँसम्म पाइपलाइन विस्तार भइसकेको छ। योजनाअनुसार पानी लिमिकोटमा २ लाख लिटरको ट्यांकी निर्माण सम्पन्न भइसकेको छ। अहिलेसम्म ३ करोड खर्च भएको समितिले जनाएको छ। अब ६० लाख रकम तत्काल उपलब्ध भए वैशाखभित्रै धारामा पानी ल्याउन सकिने बताइएको छ।
तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको इस्टिमेटअनुसार १५ करोड २९ लाख ३० हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको हो। उक्त आयोजनाले शंकरपोखरीको करिब ८० प्रतिशत बस्तीलाई समेट्ने विश्वास गरिएको छ। आयोजनाले तत्कालै शंकरपोखरीका मैदान, पोखराचौर, डाँडा, पुर्कोट, मास्खेत, खनार, चाम्लेस्वाँरलगायत ७ सय ६३ घरमा एक घर एक धारा वितरण गर्नेछ। त्यसबाहेक अन्य बस्तीसमेतमा गरी करिब १५ सय परिवारलाई पानी वितरण गरिने इस्टिमेटमा रहेको छ। जसमा लगभग ६ हजार जनसंख्या लाभान्वित हुने भएका छन्। यसअघि गाउँभरि पानीको चरम समस्याले धेरैजसोले बसाइँसराइसमेत सरेको बताइएको छ।