काठमाडौं। कपिलवस्तुको कृष्णनगर नगरपालिकाले पाँच वर्षमा दुई किलोमिटर सडक निर्माण गरेको छ। स्थानीय तहको निर्वाचनपछि आएको जनप्रतिनिधिले ग्रामीण क्षेत्रलाई सडक सञ्जालले जोड्ने अभियान अगाडि बढाएको हो।
विकास निर्माणमा पछि परेको यो नगरपालिकाका ग्रामीण क्षेत्रलाई सडक सञ्जालसँग जोड्ने कार्यलाई तीव्र रुपले अगाडि बढाएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाका अनुसार सो अवधिमा कृष्णनगरमा ६.५ किलोमिटर कालोपत्र, ६० किलोमिटर आरसिसी र ६० किलोमिटर पिसिसी ढलान सडक निर्माण गरिएको नगरपालिकाले जनाएको छ। ३०० किलोमिटर सडक निर्माण गर्ने लक्ष्य भएतपनी कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण अहिलेसम्म २०० किलोमिटर मात्र सडक निर्माण भएको बताइएको छ।
नगरपालिका क्षेत्रमा ७० किलोमिटर ग्राभेल, पाँच किलोमिटर नयाँ सडकमा माटो पुर्ने र २५ किलोमिटर नाली निर्माण गरिएको छ। यसैगरी नगरको प्रशासकीय भवन, नगर क्षेत्रमा १० वटा कल्भर्ट, एउटा झुलुङ्गे पुल, छिटौनीमा ठूलो पुल, वडा नं ८ र ९ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरिएको छ।
कृष्णनगरमा दुई सडक कालोपत्र भइरहेको छ। कृष्णनगरको मडहामा आरसिसी, बहादुरगञ्जमा सडक निर्माण, चैपुरवा पटनामा कालोपत्र, रमवापुरमा आरसिसीको काम भइरहेको छ। सार्वजनिक शौचालयको पनि निर्माण भएको छ। पुर्षोेत्तमपुर, बगहीमा कालोपत्र, सरफरमा आरसिसी सडक, माणामा ट्रस्ट निर्माण र डेबरामा वडा नं ५ को भवन निर्माण कार्य भइरहेको छ।