खोटाङ। पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तरगत खोटाङको चखेवाभञ्ज्याङ–सेखुवा (१० किलोमिटर) सडक खण्ड कालोपत्रेको तेस्रोपटक थप भएको म्याद सकिन लाग्दा पनी भौतिक प्रगति भएको छैन। लोकमार्गको ३५ प्रतिशत मात्र भौतिक प्रगति देखिएको हो।
निर्माण कम्पनी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाई जेभी, काठमाडौंको ढिलासुस्तीका कारण चखेवाभञ्ज्याङ–सेखुवा सडक कालोपत्रेको तेस्रोपल्ट थप भएको म्याद सकिन लाग्दा करिब ६५ प्रतिशत काम बाँकी रहन पुगेको हो।
मध्यपहाडी लोकमार्ग अन्तरगत चखेवाभञ्ज्याङ–दिक्तेल (४६ किलोमिटर) सडक खण्डमा पर्ने चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको काममा निर्माण कम्पनीले चरम ढिलासुस्ती गरेको सोही सडक खण्डमा पर्ने साकेला गाउँपालिकाले जनाएको छ।
मध्यपहाडी लोकमार्गको खोटाङभित्र पर्ने चखेवाभञ्ज्याङ–सेखुवा बाहेकका खण्ड भने कालोपत्रे भइसकेको छ। तर, चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रे नहुँदा खोटाङ र भोजपुर सिधा आवत–जावतमा समेत असर पुर्याइरहेको छ।
वर्षा याममा सडकमा सवारी साधन नगुड्दा बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन कठिन हुने गरेको स्थानीय बताउँछन्। निर्माण व्यवसायीले सडक फराकिलो पारेर दुई।चार दिन काम गरेजस्तो गरेर छाड्ने गरेको बाँझेच्यानडाँडाका स्थानीयले बताए।
भोजपुर–दिक्तेल सडक खण्ड अपग्रेडिङ गर्ने कार्यक्रम अन्तर्गत डबल लेनमा चौडा गर्ने, पुल पुलेसा, स्ट्रक्चर निर्माण गर्ने तथा सव–बेस, बेस सहित डिबिएसटी सर्फेस सतह सहित सडक स्तरोन्नति गर्ने गरी भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धिसाइले चेनेज ४२ं००० देखि चेनेज ५२ं०० सम्मको ठेक्का लिएको थियो।
उक्त निर्माण कम्पनीले ३० फागुन २०७५ मा सम्पन्न गर्ने गरी २ चैत २०७२ मा चखेवाभञ्ज्याङ–सेखुवा खण्ड कालोपत्रेको सम्झौता गरेको थियो। तर सम्झौता अनुसार काम नगरेपछि थप भएको पहिलो म्याद १३ पुस २०७७ मा र दोस्रो म्याद १३ असार २०७८ मै गुज्रिएको थियो। काम अलपत्र पार्ने ठेकेदारलाई कारबाही गर्नुको म्याद थप गर्दै सट्टा बचाउ गरिएको भन्दै जिल्लावासी असन्तुष्ट भएको बताइएको छ।
सडक कालोपत्रेको काम अलपत्र पार्ने निर्माण व्यवसायीलाई पत्रमार्फत तथा विभिन्न मितिमा बैठकमा बोलाएर निर्माण कार्य सम्पन्न गर्न पटक–पटक ताकेता गरिरहेको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ।