धनुषा। धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा शहरी स्वास्थ्य केन्द्र विस्तार गरिने भएको छ। महानगरले नागरिकको स्वास्थ्य उपचारमा सहजता प्रदान गर्ने उद्देश्यले नगरक्षेत्रमा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो।
नगरवासीको स्वास्थ अवस्थामा सुधार ल्याउने र सबै नागरिकको स्वास्थ्यमा सहज पहुँच पुर्याउने नीति तथा योजना अन्तर्गत उपमहानगरपालिका भित्र विभिन्न ११ वटा वडामा शहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो।
उपमहानगरपालिकाले वडा नं ७, १२, १३, १४, १५, १८, १९, २०, २२, २३ र २४ मा सहरी स्वास्थ्य केन्द्र विस्तार गर्न लागेको हो। त्यसका लागि भवन निर्माण कार्य तीव्र रुपमा अघि बढाइएको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरको सबै वडामा स्वास्थ्य केन्द्र संचालन रहेको छ। तर नगरको २५ वडा मध्ये १४ वटा वडाको स्वास्थ्य केन्द्र आफ्नै भवनमा सञ्चालन गरिरहेका छन्। भवन अभाव रहेका ११ वटामा स्वास्थ्य केन्द्रको भवन निर्माणको कार्य थालिएको बताइएको छ।
आफ्नो भवन नभएका वडाहरूले विद्यालय र वडा कार्यालय भवनमा कतिपय घर भाडामा लिई स्वास्थ्य चौकी सञ्चालन गरिँदै आएको थियो। पटकपटक ठाउँ परिवर्तन जस्ता समस्याले गर्दा सेवा लिन आउने नगरवासी र सेवा दिने स्वास्थ्य केन्द्रलाई समस्या हुने गरेकोले सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्न आफ्नै भवन निर्माण कार्य अघि बढाइएको महानगरले जनाएको छ। यसका लागि ४ करोड ४७ लाख बजेट छुट्याइएको जनाइएको छ।