काठमाडौं। मालिका गाउँपालिकाले गाउँपालिकाको केन्द्रसँग सबै वडा जोड्ने गरेर मालिका रिङरोड निर्माण गरेको छ। करिब चार करोड लागतमा रिङरोड निर्माण भएको हो।
निर्वाचित भएको पहिलो वर्षमै गाउँपालिकाको गौरवको योजनाको रूपमा मालिका रिङरोडको काम सुरु भएको थियो।
मालिका रिङरोडको नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य कमलराज श्रेष्ठले उद्घाटन गरे। उनले कुनै समय सडक नभएका कारण लठ्ठीको भरमा दुई–तीन दिन लगाएर पुग्ने विकट गाउँहरू स्थानीय तहसँगै नजिक भएकोमा खुसी व्यक्त गरे।
स्थानीय तहपछिको विभिन्न वर्षहरूमा गरेर तीन करोड ८३ लाख खर्च भएको मालिका गाउँपालिकाले जनाएको छ। मालिका गाउँपालिका– ४ को अर्खाबाङ हुँदै तिरतिरे, सिमलटारी, अर्जै बोम, नेटा, लिलिङ, भिमगिठे, पाटाखर्क, दर्लिङ, गङगरेदेखि पुनः अर्खाबाङसम्म मालिका रिङरोडले जोडेको छ।
मालिका गाउँपालिका मदन भण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएको बताइएको छ। रिङरोडबाहेक मदन भण्डारी सडक, सालझण्डी–ढोरपाटन सडक र मध्यपहाडी सडकसँग जोडिएका सडकहरूको स्तरवृद्धि र ग्राभेलको काम भइरहेकाले बाह्रै महिना सहज रूपमा यातयात सञ्चालन हुने स्थानीयले बताए।