तुलसीपुर। तुलसीपुर बसपार्कको लाइन काटिएको छ। विद्युत् र खानेपानीको बक्यौता रकम नबुझाउँदा तुलसीपुर बसपार्कको विद्युत् र खानेपानीको लाइन काटिएको हो।
बसपार्कमा एक हप्ताअघि विद्युत् लाइन काटिएको हो भने दुई हप्ताअघि खानेपानीको लाइन काटिएको थियो। विद्युत् कार्यालयको आठ लाख बक्यौता नतिर्दा चैत २ गतेदेखि विद्युत् काटिएको हो। अहिलेसम्म पनि त्यहाँ विद्युत् जडान गर्न कुनै पहल भएको छैन।
विद्युत् नहुँदा त्यहाँका होटल व्यवसाय ठप्प छन्। गर्मी मौसम सुरु भएसँगै फ्रिज चलाउन र मोबाइल पसलमा अनिवार्य विद्युत् चाहिन्छ। विद्युत र पानीको समस्या समाधान गर्न कतैबाट पनि पहल नभएको स्थानीय व्यवसायीहरू बताउँछन्। विसं २०७७ देखि त्यहाँ व्यवसायीलाई सटर भाडामा प्रदान गरिएको हो। त्यतिबेला भाडामात्रै तिर्ने तर, पानी विद्युत्को नतिर्ने सहमति भएको व्यवसायीले बताए। तर अहिलेसम्म त्यहाँ कुनै विद्युत् महसुल बुझाइएको छैन।
विसं २०७८ वैशाखदेखि फागुनसम्म उपमहानगरपालिकाले नै भाडा उठाउने काम गरिरहेको थियो। पुनः पुसमा बोलपत्र खुला गर्दा त्यही बुढाथोकी ट्रेड एण्ड सप्लायर्सले नै ठेक्का पाएको र ठेक्का पाएपछि सप्लायर्सले त्यहाँको व्यवस्थापनका लागि सक्रियता बढाएको छ।
त्यसका लागि सम्झौता गर्न सटर भाडामा लिएकाहरूलाई चिठ्ठी पठाएको बताइएको छ। सटर भाडामा लिएकाले यसअघिका महिनाको पनि भाडा तथा विद्युत् महसुल नबुझाएकाले भाडा र महसुलसहित सम्झौता गर्न बोलाएको बताइएको छ।
उपमहानगरपालिकाले पनि सम्बन्धित सटर भाडा लिएकाहरूले नै विद्युत् महुसुल तिर्नुपर्ने बताएको छ। उपमहानगरपालिकाले सार्वजनिक शौचालय, छोटो र लामो समयको पार्किङ, प्रवेश तथा निकासी शुल्क, होर्डिङ बोर्डसहित सार्वजनिक सूचना, टर्मिनल भवन, ५२ सटरको शुल्क उठाउने जिम्मा बुढाथोकी ट्रेड एण्ड सप्लायर्सलाई दिइएको छ। वार्षिक भ्याटबाहेक दुई करोड २३ लाख बुझाउने गरी ठेक्का सम्झौता भएको हो।