काठमाडौं। सबस्टेसनका लागि किनेको जग्गा खाली गर्न एमसीए नेपालले सूचना प्रकाशित गरेको छ। मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए नेपाल) ले नुवकोटको रातमाटेमा सबस्टेसन बनाउन खरिद गरेको जग्गाका धनीलाई घरजग्गा खाली गराउन अनुरोध गरेको हो।
उक्त जग्गानामसारी समेत भइसकेको थियो। एमसीए नेपालले उक्त जग्गा ३५ दिनभित्र खाली गर्न जग्गा धनीलाई अनुरोध गरेको छ। उक्त जग्गामा घेराबारा गरेर आयोजना पूर्वतयारीको काम सुरु हुने सूचनामा उल्लेख गरिएको छ। नेपालमा अमेरिकी सहयोगमा सञ्चालन हुन लागेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गतको प्रसारणलाइन आयोजना व्यवस्थापन तथा सञ्चालन गर्न गठित विकास समिति हो।
नुवाकोटको रातमाटेमा एमसीएले ३८५ रोपनी जग्गा १ अर्ब ३५ करोडमा किनेको छ। मिलेनियम च्यालेन्ज कर्पोरेसन र नेपाल सरकारबीच २९ भदौ २०७४ मा हस्ताक्षर भएको एमसीसी नेपाल कम्प्याक्टमा छैटौं शर्त ‘निर्माणस्थलमा पहुँच दिने’ भन्ने रहेको छ।
करिब ३१५ किलोमिटर लामो ४०० केभी क्षमताको विद्युत् प्रसारणलाइन तथा तीन वटा ४०० केभी क्षमताका सबस्टेसन निर्माण गर्ने र ७७ किलोमिटर सडकलाई नयाँ प्रविधिबाट मर्मत र विस्तार गर्ने गरी यो आयोजना कार्यान्वयनमा लगिंदैछ। उक्त आयोजना निर्माणको काम सुरु गर्नुअघि जग्गा प्राप्ति, रुख कटानका लागि स्वीकृति, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), टेन्डर डकुमेन्टको तयारी र टेन्डर लगायतका काम सक्नुपर्छ।
तोकिएका प्रक्रियाबाट आयोजनास्थलका लागि जग्गा किन्ने, रुख कटानको अनुमति लिने, टेन्डर डकुमेन्ट तयार गर्ने लगायतका काम अघि बढाइँदैछ। पूर्वतयारी सकिएपछि करिब १८० दिनको समय दिएर टेन्डर हुनेछ।
छनोटमा परेका ठेकदारले नै आयोजनाको विस्तृत डिजाइन तयार गर्नुपर्छ। परियोजना कार्यान्वयनका लागि करिब ४२ महिनाको ठेक्का अवधि हुनेछ भने एक वर्षको ‘डिफेक्ट लायबलिटी पिरियड’ (निर्माणपछिको परीक्षण अवधि) दिइनेछ। आयोजना कार्यान्वयनमा जाने गरी तय भएको दिनबाट ५ वर्षको निर्माण अवधिको गणना सुरु हुनेछ। ५ वर्षभित्र आयोजनाको निर्माण र परीक्षण सकेर आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ।
आयोजना पूर्वतयारीको बजेट ८ करोड ५ लाख अमेरिकी डलर (१० अर्ब २० करोड रुपैयाँ) त्यसमध्ये अहिलेसम्म झण्डै ४ अर्ब ४६ करोड अर्थात करिब ४ करोड डलर खर्च भएको छ।