काठमाडौं। चोभारमा रहेको सुख्खा बन्दरगाह चैत महिनाभित्रै सञ्चालनमा आउने भएको छ। असार महिनामै निर्माण सम्पन्न भएको चोभार सुख्खा बन्दरगाहमा भन्सार कार्यालय, बैंक तथा अन्य पूर्वाधार स्थापना भएपछि सञ्चालनमा आउन लागेको हो ।
बिहीवार इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले सुख्खा बन्दरगाह चैत्र महिनाभित्रै सञ्चालन हुने बताए । समितिले सम्पूर्ण काम सकेकाले उद्घाटनको तयारी थालिएको उनले जानकारी दिए।
उनले भने, ‘निर्माण सम्पन्न त गत असारमै भएको हो । अब यहाँ जुन सरोकारवाला निकाय छौँ हामी इन्टरमोडेल यातायात विकास समिति, भन्सार विभाग, क्वारेन्टीन भयो । अब हाम्रो तयारी सकिएको छ । अब हामी तयारी अबस्थामा छौँ । चाडैँ उद्घाटन गरेर सञ्चालन गर्ने हिसाबले कामलाई तिव्रता दिइराखेका छौँ ।’
यस सुख्खा बन्दरगाहले भारतको नाकाबाट आउने सामग्रीहरुलाई काठमाडौंमै ल्याएर भन्सार चेकजाँच र पास गराउने कार्यकारी निर्देशक गजुरेलले बताए । भन्सार प्रक्रियाको सहजीकरण सुख्खा बन्दरगाहमा आइसकेपछि मात्रै हुने उनले बताए ।
उनले सामग्री लिएर चोभारको बन्दरगाहसम्म आउने कन्टेनरमा अहिलेको नाकाको भन्सारले सिल लगाइदिने र जिपिएस सिस्टम जडान गरेर पठाउने बताए । यसरि सिल लगाएर र जिपिएस सिस्टम जडान गरेर पठाइएका कन्टेनरहरु सुख्खा बन्दरगाहमा आएपछि सिल र जिपिएस चेक गरेर मात्रै भन्सार पास हुने उनले स्पष्ट पारे ।
बन्दरगाहमा आवश्यक पर्ने सम्पूर्ण भौतिक पूर्वाधारहरुको व्यवस्थापन भइसकेको इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सबै पूर्वाधारहरुको व्यवस्थापन भइसकेकाले बन्दरगाह सहज रुपमा सञ्चालन हुने उनले बताए ।
इन्टरमोडेल यातायात विकास समितिका कार्यकारी निर्देशक गजुरेलले नेपालगञ्ज र रसुवाको टिम्मुरेमा पनि सुख्खा बन्दरगाह निर्माण भइरहेको बताए । मुस्ताङ र कञ्चनपुरमा पनि बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययनको काम भइरहेको उनले बताए।
हाल विरगञ्ज, भैरहवा, काँकडभिट्टा र तातोपानीमा सुख्खा बन्दरगाह सञ्चालनमा रहेको कार्यकारी निर्देशक गजुरेलले जानकारी दिए । सञ्चालन भइरहेका बन्दरगाहलाई पनि अझ प्रविधिमैत्री रुपमा अगाडी बढाउन काम गरिरहेको उनले बताए।