काठमाडौं। भूमे गाउँपालिकाका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको छ। स्थानीय सरकार हुनुअघि गाउँपालिका मध्यपहाडी राजमार्ग र सहिद मार्गको मात्र पहुँचमा रहेको थियो भने, अहिले भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँच पुगेको हो।
संघीयता कार्यान्वयन भएको ५ वर्ष पुग्नै लाग्दा भूमेका सबै ठूला मुख्य बस्तीमा सडक सञ्जालको पहुँचमा पुगेको छ। चुनावमा मतदातासँग गरिएको महत्त्वपूर्ण प्रतिबद्धतामध्ये एक सडकतर्फ सोचेअनुसारको विकास भएको गाउँपालिकाले जनाएको छ।
रिङ र लिङ्क रोड निर्माणको अवधारणाअनुसार ग्रामीण तथा कृषि सडक विस्तारले गापाका सबै ठूला बस्तीमा सडक पुगिसकेको छ। गाउँपालिकाका मुख्या बस्तीहरू दालिबाङ, शेराबाङ, साकिम, काँडा, मोराबाङ, सीमा यसैगरी झुम्लाबाङ, क्याङ्सी, गाबाङ, कोर्जा, चुनबाङ, गुनाम, लाबाङ, तामारी, भित्रीवन, दाङग्रिबाङ यी सबै ठूला बस्तीमा सडक सञ्जालको पहुँचमा पुर्याइसकिएको जनाएको छ।
लुकुम, महत, काँक्री, धर्मशाला र खाबाङ लगायतका गाउँ भने स्थानीय सरकार हुनुअघि मध्यपहाडी राजमार्ग र सहिद मार्गको पहुँचमा थिए। अब साना गाउँहरू आरुडाडा, दहबाङ, कुचिबाङ, नाम्पु लगायत गाउँ मात्र हाल सडक पुग्न बाँकी रहेको छ।
विगत गाउँमा सडकको पहुँच नहुँदा निर्माण सामग्री र खाद्यान्न आयात तथा निर्यातमा साह्रै सास्ती हुनेगर्दथ्यो हाल गाउँमै सडक आएपछि जुनी नै फेरिएको अनुभूति भएको स्थानीयले बताएका छन्। गाउँगाउँमा सडक पुगेपछि भूमेवासी सडक सञ्जालको फाइदा पनि लिइराखेका छन्।