पर्सा। मधेश सरकारले पर्साको ठोरीलाई पर्यटकीय क्षेत्र घोषणा गर्ने भएको छ। राजधानी जनकपुरधाम बाहिर ठोरीमा नै मधेश सरकारको मन्त्रिस्तरीय बैठक बसी शुक्रबार पर्साको ठोरीलाई प्रदेशकै पहिलो पर्यटकीय क्षेत्र घोषणा गर्न लागिएको हो।
शुक्रबार ठोरीमा मन्त्रिस्तरीय बैठक बस्ने मधेश प्रदेशले जनाएको छ। त्यही पुगेर मन्त्रिस्तरीय बैठक बसेलगत्तै ठोरीलाई आधिकारिक रूपमा पर्यटन क्षेत्र घोषणा गरिने बताइएको छ। पर्साको ‘ठोरी’लाई पर्यटकीय क्षेत्र र पर्साकै ‘भाठा धाम’लाई धार्मिक पर्यटकीय क्षेत्र घोषणा गर्ने कार्यक्रम तय भएको छ। भाठा धाममा चाहिँ मन्त्रीहरूको टोली शनिबार पुग्ने छन्।
पर्साको सदरमुकाम वीरगन्जभन्दा सुदूरपश्चिममा रहेको ठोरी गाउँपालिकाभित्र सीतागुफा, सिंगे पर्वत, गोलेडाँडा, राईधारा, सेतो पहाड, रानीवन, सिद्धनाथ मन्दिर क्षेत्र र मगर संस्कृति झल्कने तीनघरे सामुदायिक होमस्टे रहेका छन्।
ठोरीका विभिन्न स्थानहरु भ्रमण गर्नको लागि पर्यटनको ओइरो लाग्ने गरेको छ। उक्त ठाउँमा वार्षीक लाख भन्दा बढी भारतीयहरु आउने गर्दछन्। अंग्रेजी नयाँवर्ष, भ्यालेन्टाइन डे र विभिन्न चाडपर्वमा त हजारौं भारतीय ठोरी आइपुग्ने गरेको स्थानीयको भनाइ छ।
पर्यटकीय स्थल घोषणा नहुँदै पनि लाखभन्दा बढी मानिस पुग्ने ठोरीलाई अब आधिकारिक रूपमै पर्यटकीय स्थलका रूपमा पहिचान कायम गर्न लागिएको ठोरी गाउँपालिकाले जनाएको छ। यसले आन्तरिक र बाह्य पर्यटक आउने र ठोरीको समृद्धिका लागि राम्रो माध्यम बन्ने ठोरीवासीको अपेक्षा रहेको छ।