काठमाडौं। चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।
चीनका विदेशमन्त्री वाङ यीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्ने कार्यक्रम छ ।
चीनका विदेशमन्त्री यीले प्रधानमन्त्री देउवालाई विमानस्थलको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए ।
चीन सरकारको सहुलियतपूर्ण २२ अर्ब ऋणमा उक्त विमानस्थल निर्माण गरिएको हो। विमानस्थल निर्माणको ठेक्कासमेत चीन सरकारकै स्वामित्वमा रहेको कम्पनी सिएएमसीईले पाएको थियो।
राष्ट्रिय गौरवको आयोजनामा समावेश विमानस्थलको भौतिक प्रगती ९३ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ७४ प्रतिशत पुगेको आयोजना प्रमुख मुनकर्मीले जानकारी दिए ।
नेपाल सरकारले विमानस्थलको काम २०२१ जुलाई १० भित्र सक्ने कार्यादेश चिनियाँ कम्पनी सिएएमसीईलाई दिएको थियो। तर कोभिड–१९ महामारीका कारण आयोजनालाई आवश्यक सामाग्री आयात गर्न लगायतका समस्या थपिएपछि १ वर्ष म्याद थपिएको थियो।
यसै वर्षको जुलाई १० अगावै आयोजनाका सम्पूर्ण काम सकिने मुनकर्मीले बताए ।
फोर डी मोडलमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १५० देखि १८० जना यात्रु बोक्ने एयरबस ३२० र बोइङ ७५७ ले उडान भर्न सक्छन्। छोटो दुरीका न्यारोबडी जहाजले यस विमानस्थलको सिंगल अप्रोच अर्थात पूर्वबाट मात्र अन्तर्राष्ट्रिय उडान भर्न सक्छ।
विमानस्थलमा ३ वटा अन्तर्राष्ट्रिय, ४ वटा एटीआर र ४ वटा ट्विनअटर विमान पार्किङ गर्न सकिने संरचना बनेका छन्।