काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कतिपय पूर्वाधार निर्माण कार्यमा निर्माण व्यवसायीका कारण ढिलाइ हुने बताएकी छन्।
ललितपुर महानगरपालिका–२३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै मन्त्री भुसालले विकास निर्माणका लागि जनताले पनि निरन्तर खबरदारी गर्नुपर्ने बताएकी हुन्।
उनले भनिन्, ‘जनप्रतिनिधिले आफ्ना जनताका लागि योजना पार्ने हो, बजेट छुट्याउने हो, त्यसपछि खरिद प्रक्रियामा जान्छ, त्यसपछि स्थानीय उपभोक्ताले विशेष चासो राख्नुपर्छ ।’
जनताको आवश्यकताको आधारमा विकास गर्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले आफूले विनास गरेरभन्दा पनि संरक्षण गर्दै विकास गर्ने सोचका आधारमा अगाडि बढ्ने विश्वास दिलाइन्।
मन्त्री भुसालले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले पाँच वर्षमा जनताका लागि आवश्यक धेरै सुविधा घरदैलो नजिकै पुर्याएको बताइन् ।
स्थानीय तहको पहिलो सरकार गठन हुँदा कतिपय स्थानमा भौतिक पूर्वाधार नभएको बताउँदै मन्त्री भुसालले उपलब्ध साधन र स्रोतको सही तवरले प्रयोग गरेर जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा जोड दिइन्।
उनले भनिन्, “कानुन पनि नभएको अवस्थामा जनताको आकांक्षालाई सम्बोधन गर्न गाह्रो थियो, अनुभव पनि थिएन, यद्यपि पाँच वर्षमा स्थानीय सरकारले धेरै काम गरेका छन् ।”
जनताले घर नजिकैबाट सेवा पाएकोमा खुसी व्यक्त गर्दै मन्त्री भुसालले परिवर्तनको आन्दोलनमा आफूहरूले जीवन खर्चिएको र परिवर्तनका एजेन्डा कार्यान्वयन गर्ने अवसर पाएकाले त्यसलाई स्थानीय जनप्रतिनिधिले भरपुर रुपमा सदुपयोग गर्नुपर्ने बताइन् ।
ललितपुर महानगरपालिका र त्यसअन्तर्गतका वडा मात्र नभई देशभरका स्थानीय सरकारले जनतालाई गुणस्तरीय सेवा दिनुपर्नेमा उनको जोड थियो । मन्त्री भुसालले आधुनिक प्रविधिको अधिकतम प्रयोग गरेर स्थानीय सरकारले जनताको सेवा गर्नुपर्छ भनिन्।