काठमाडौं। म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीमा स्वास्थ्यचौकीको नयाँ भवन निर्माण भएको छ। गुड नेवर्स इन्टरनेशनल नेपाल, धवलागिरि गाउँपालिका र समुदायको कूल रु ३५ लाख १९ हजार ८३७ को लागतमा चारकोठे एकतले भवन निर्माण भएको हो।
भवन निर्माणका लागि धवलागिरिले रु २६ लाख र गुड नेवर्स इन्टरनेशनल नेपालले रु आठ लाख ३९ लाख ८३७ सहयोग गरेका उपभोक्ता समितिका सचिव गणेश खत्रीले बताए। “धारापानी काठमाडौँ समाजको रु १० हजार, धारापानी मगर सङ्घको रु २५ हजार, सिर्जनशील हिमाली युथ क्लबको रु १० हजार लगानी भएको छ”, उनले भने, “भूकम्पप्रतिरोधी क्षमताको भवन अपाङ्गतामैत्री छ।”
साविक ताकम गाविसको १ र २ नं वडामा पर्ने धारापानीका बासिन्दालाई ताकमस्थित वडास्तरीय स्वास्थ्यचौकीमा पुगेर सेवा लिन अपायक भएपछि विसं २०७७ माघमा धारापानीमा स्वास्थ्यचौकी स्थापना भएको थियो। किसानी माविमा एकीकरण भएको तत्कालीन धवलागिरि आधारभूत विद्यालयको भवनबाट स्वास्थ्यचौकी सञ्चालन गरिएको थियो। एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी रहेको स्वास्थ्यचौकीबाट धारापानीका ३५० घरधुरी लाभान्वित भएका वडाध्यक्ष कलानिधि सुवेदीले बताए।
“भवन निर्माण भएपछि स्वास्थ्यचौकीको सेवाप्रवाह सहज भएको छ”, उनले भने, “प्रशासनिक, औषधि भण्डारण, बिरामीको स्वास्थ्य परीक्षण, परामर्श र स्वास्थ्यकर्मीका लागि छुट्टाछुट्टै कक्ष बनाइएको छ।”
भवन बनाउन सघाएको गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सन् २०१६ देखि धवलागिरि र २०२१ देखि मालिका गाउँपालिकामा सङगम म्याग्दी र कदम म्याग्दीमार्फत एकीकृत सामुदायिक विकास परियोजना सञ्चालित छ। सङ्गमले शिक्षा, आयआर्जन साथै बालअधिकार बाल संरक्षणलगायतका क्रियाकलाप सञ्चालन गरेको छ। कदम म्याग्दीले स्वास्थ्य तथा सरसफाइसम्बन्धी क्रियाकलाप सञ्चालन गरिरहेको छ।