काठमाडौं। नयाँ वर्षको अवसरमा भैरहवामा सिद्धार्थ सडक खाना महोत्सव हुने भएको छ। ‘सडकमै खाऊँ, सडकमै रमाऊँ’ भन्ने मूल नारासहित आर्थिक चलायमानका लागि नयाँ वर्ष २०७९ को पूर्व सन्ध्यामा खाना महोत्सव हुन लागेको हो।
पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने, उक्त क्षेत्रको पहिचान तथा सांस्कृतिक परम्पराको विकास गर्ने र समग्रमा सो क्षेत्रको विकासमा सहयोग पुर्याउने महोत्सवको उद्देश्यका साथ होटेल तथा रेस्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीले महोत्सव आयोजना गर्न लागेको बताइएको छ।
कोभिडका कारण अन्योलमा बनेको पर्यटन व्यवसायलाई उजागर गर्न, स्थानीय समुदायको परिकारको प्रवर्द्धन गर्न, पर्यटकहरूलाई सुरक्षित छ भन्ने सन्देश दिन र आन्तरिक र भारतीय पर्यटकलाई मध्यनजर गर्दै महोत्सव गर्न लागिएको हो।
विगत तीन वर्षदेखि थला परेको पर्यटन व्यवसायमा केही हदसम्म चलायमान बनाउन मद्दत पुर्याउने अपेक्षाले एक सय वटा स्टल रहने गरी महोत्सवको तयारी गरिएको संगठनले जनाएको छ। अनुमानित २५ लाखको खर्चलागतमा हुने महोत्सव भैरहवाको मुख्य बजार उज्यालो चोकदेखि मिलनचोकसम्म राति ३ बजेसम्म हुनेछ।
५० हजार दर्शक करिब एक करोडको कारोबार हुने अपेक्षा संगठनले राखेको छ। कार्यक्रममा खानाका विभिन्न परिकार सहित स्थानीय खाना, , स्थानीय कला संस्कृति, स्थानीय कल्चर नृत्य, विद्यालय नृत्य, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रस्तुति तथा डिजेसहित भव्य सांस्कृतिक कार्यक्रम हुनेछ।