काठमाडौं। जमलमा बन्न लागेको पुस्तकालय भवन निर्माणको ठेक्का प्रक्रिया रद्द भएको छ। सेटिङ भएको पुष्टि भएपछि पुस्तकालयको भवन निर्माणको ठेक्का प्रक्रिया नै रद्द गरिएको हो।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत माघ १० गते आह्वान गरको झण्डै ७० करोड रुपैयाँ बराबरको ठेक्कामा प्रतिस्पर्धा खुम्च्याएर सेटिङ गरिएको थियो।
बोलपत्रमा प्रतिस्पर्धा खुम्च्याएर भएको मिलेमतोबारे समाचार सार्वजनिक भएपछि ठेक्काबारे सार्वजनिक खरिद अनुगमन कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रश्न उठाएका थिए ।
समानान्तर निर्माण सेवासहितका केही कम्पनीबीच जेभीमा ठेक्का लाग्ने खबर सार्वजनिक भएपछि दबावमा आएको मन्त्रालयले प्राविधिक मूल्यांकनकौ चरणमा ठेक्का प्रक्रिया रोक्ने निर्णय गरेको हो। गत ३० फागुनमा राष्ट्रिय पुस्तकालयलाई पत्र लेख्दै मन्त्रालयले नै गत बोलपत्रको खरिद सम्बन्धी प्रक्रिया रद्द गर्न भनेको थियो ।
अहिलेसम्म भएको प्रक्रिया रद्द गरी ड्रइङ, डिजाइन, स्पेसिफिकेसन र डिपीआरको आधारमा तयार गरिएको लागत अनुमान र बोलपत्रसम्बन्धी कागजात पुनःअध्ययन गरी नयाँ खरिद प्रक्रिया अगाडि बढाउने निर्णय मन्त्रालयले गरेको थियो ।
यसअघि सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्कामा आवेदन दिएका र प्राविधिक प्रतिस्पर्धामा सहभागी फर्म तथा कम्पनीको विवरण मागेको थियो । विवरणको अध्ययनपछि कार्यालयले बोलपत्रको बिड डकुमेन्टको सेक्सन ३ अन्तर्गत मूल्याङ्कन तथा क्राइटेरियाको २, ४ २ को ‘ए’ र ‘बी’ मा राखिएको प्रावधानमा असहमति जनाएको थियो ।
उक्त ४ वटा निर्माण व्यवसायी फर्मले बोलपत्र खरिद गरेका थिए । तर, बोलपत्र समानान्तर–बिकोइ–प्रतिष्ठा जेभीको मात्रै बोलपत्र पेश भएको थियो ।
१० वर्षभित्र कम्तीमा ५७ करोड ७४ लाख ९८ हजार रुपैयाँ बराबरको एउटा डबल बेसमेन्ट भवन निर्माण गरेको कम्पनी मात्रै ठेक्कामा सहभागी हुन पाउने अवस्था थियो । जबकी नेपालमा ठूलो डबल बेसमेन्ट भवन निर्माणको अनुभव हासिल गरेका कम्पनीको संख्या सीमित छ, त्यसमाथि भवनको बेसमेन्ट निर्माणभित्र पनि साना–साना क्राइटेरिया तोकेर प्रतिस्पर्धा खुम्च्याइएको थियो ।
रद्द भएको टेन्डरको सूचनाअनुसार एउटै भवनमा प्रति बेसमेन्ट १३८५ वर्गमिटरमा ६०० एमएम मोटाइको १४ मिटर गहिरो पाइलिङ गरेको कम्पनी मात्रै यो ठेक्काको प्राविधिक मूल्यांकनमा पास हुनसक्थ्यो । त्यति मात्रै नभएर डबल बेसमेन्टमा एम ३० र त्यसभन्दा माथिको क्रंक्रिटिङको विशेष अनुभव (४००० घनमिटर) मागिएको थियो ।
यसले एउटै भवनमा डबल बेसमेन्टमा मात्रै काम गरेको अनुभवले नहुने र क्रंक्रिटिङको ठूलो काम गरेको अनुभव पनि चाहिने अवस्था बनेको थियो । नेपालमा डबल बेसमेन्ट भवन बनाउन थालेको धेरै वर्ष नै भएको छैन, त्यसमाथि डबल बेसमेन्टभित्रै पनि धेरै स्पेसिफिक योग्यता पूरा गर्न सक्ने कम्पनी समानान्तर मात्रै थियो ।
टेन्डरमा कम्तीमा ५०० जना अट्ने अडिटोरियम र सभाहल निर्माण गरेको अनुभव पनि अनिवार्य गरिएको थियो । समानान्तर निर्माण सेवाले गोदावरी, सुर्खेत लगायतका स्थानमा हालसालै ठूलो क्षमताको सभाहल बनाएर अनुभव हासिल गरेको छ ।
यस्तो अनुभव हालसालै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार ठहर गरेको काठमाडौं महानगरपालिकाको प्रशासनिक भवनको ठेक्कामा पनि यस्तै स्पेसिफिक प्राविधिक योग्यताहरु राखिएको थियो ।
सो ठेक्कामा प्राविधिक रुपमा योग्य हुन मन्दिर तथा पुरातात्विक क्षेत्रमा निर्माणको काम गरेको अनुभव पनि मागिएको थियो । त्यसैगरी अन्तर्राष्ट्रिस्तरको पुस्तकालय भवन बनाएको योग्यता पनि चाहिने भनिएको थियो । अन्तर्राष्ट्रियस्तरको पुस्तकालय भवन निर्माण अनुभव नेपालमा निकै सीमित कम्पनीसँग छ ।
राष्ट्रिय पुस्तकालयका प्रमुख दशरथ मिश्र एउटा मात्रै कम्पनीको बोलपत्र पेश भएपछि आफूले मन्त्रालयमा त्यसको जानकारी गराएको बताउँछन् ।
ठूलो ठेक्कामा अन्य कम्पनी सहभागी हुनै नसक्ने अवस्था पुष्टि भएकाले प्रतिस्पर्धी तवरले ठेक्का गराउन टेन्डर रद्द गरिएको उनले बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सार्वजनिक खरिद अनुमगन कार्यालयलाई पनि यसबारे जानकारी दिइएको उनले बताए ।
‘अब प्रतिस्पर्धा हुने गरी सबै बिड डकुमेन्ट पुनः अध्ययन गरेर अर्को टेन्डर आह्वान गर्छौं,’ मिश्रले भने ।
सरकारले अपांग, बालबालिका र ज्येष्ठ नागरिकमैत्री हुने गरी ५ तले भवन बनाउन लागेको हो । २०१३ पुसमा हरिहर भवनमा स्थापना भएको पुस्तकालय भूकम्पमा क्षतिग्रस्त भएपछि जमलमा नयाँ भवन बनाएर सार्न लागिएको हो । अनलाइनखबरबाट