लमजुङ। लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको प्रत्येक घरमा खानेपानीको धारा पुर्याइएको छ। २ करोड ६१ लाख लागतमा गाउँपालिकाको घरघरमा खानेपानीको धारा पुर्याइएको हो।
दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्याइएको गाउँपालिको जनाएको छ ।
गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्याइएको हो ।
गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ । २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले जानकारी दिए।
दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २, अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्याइएको हो ।
१३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ । यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन् ।