काठमाडौं। यतिबेला औद्योगिक क्षेत्रमा ८ घण्टासम्मको लोडसेडिङ हुन थालेको छ। भारतबाट महंगो मूल्यमा बिजुली किन्न नसकेको भन्दै नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा ८ घण्टासम्मको लोडसेडिङ गर्न थालेको हो।
भारतबाट खरिद गर्ने विद्युत महंगो भएको भन्दै गत मंगलबार प्राधिकरणले आयात रोकेर औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेको थियो।
बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै जति महंगो परे पनि भारतीय बिजुली किनेर औद्योगिक लोडसेडिङ हटाउने प्रतिबद्धता गरेका थिए। तर पनि आइतबार साँझदेखि सबै औद्योगिक क्षेत्रको विद्युत कटौती भएको छ।
२० रुपैयाँ भारुमा समेत बिजुली किन्न नपाइएपछि औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्नुपरेको प्राधिकरणले स्वीकार गरेको छ। भारतमा बिड गर्दा पनि बेच्ने नपाएकाले बिजुली कम भएर कटौती गर्नुपरेको बताइएको छ।
प्राधिकरणले महंगो बिजुली नकिन्ने रणनीति नै लिएकाले लोडसेडिङ गर्ने अवस्थामा पुगेको बुझिएको छ। अहिले पनि इन्डियन इलेक्ट्रिसिटी एक्सचेन्ज (आईईएक्स) मार्फत् रियल टाइममा २० रुपैयाँ भारुमा बिजुली किन्न सकिने वेबसाइटमा देखिन्छ।
संकटका समयमा उद्योगहरुले पनि केही योगदान दिनुपर्ने प्राधिकरणको भनाइ छ।
नेपालले आईईएक्समार्फत ९६ वटा पावर ब्लकहरुको बिजुली खरिदबिक्री कारोबार गर्न पाउँछ। २० भारुमा खरिद गर्दा विभिन्न शुल्कसहित ३८ रुपैयाँ पर्छ।
नेपालमा अधिंकाश जलविद्युत आयोजनाहरु नदी प्रवाहमा आधारित छन्। सोही कारण बर्खामा २१ मेगावाटसम्म उत्पादन हुने भए पनि हिउँदमा त्यसको ३२ देखि ४० प्रतिशत मात्रै उत्पादन छ। सोही कारण भारतबाट आयात गर्नुपर्ने अवस्था छ।