रुपन्देही। तिलोत्तमा नगरपालिका–२ शंकरनगरस्थित वनवाटिकामा बहुउद्देश्यीय टावर निर्माण गरिएको छ। तिलोत्तमा नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले टावर निर्माण गरेको हो।
नवनिर्मित टावरको पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार उद्घाटन गरेका छन्।शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा २०७४ चैत्र १५ गते शिलान्यास गरिएको उक्त टावर प्राकृतिक निर्माण सेवा कम्पनीले चार वर्षमा निर्माण सम्पन्न गरेको हो।
११ करोड ४५ लाख लागतमा निर्माण गरिएको टावर १३४ फिट उचाइको १० तले छ। टावर निर्माणको कूल बजेटको ७० प्रतिशत तिलोत्तमा नगरपालिकाले र ३० प्रतिशत शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रले व्यहोरेको छ।
तिलोत्तमा नगरपालिका र शंकरनगर वन विहारको संयुक्त लगानीमा लिफ्ट सुविधा सहित निर्माण गरिएको टावरमा छैटौं तलासम्म सुविधायुक्त रेष्टुराँ र पर्यटक विश्रामस्थल, रिसर्च रुम, डिपार्टमेन्टल स्टोर, अफिस रुम, शौचालय, वातानुकुलित हल, लाइब्रेरी लगायतका संरचना बनाइएको छ।
सातौं तलादेखि मात्रै दृश्यावलोकनको लागि प्रयोग हुने नगरपालिकाले जनाएको छ। टावरको १० औं तल्लामा दृश्यावलोकनका लागि टेलिस्कोप राखिएको छ।
टावरसँगै २ बिघा क्षेत्रफलमा अन्य पर्यटकीय पूर्वाधार र संरचनाहरू अहिले बनिरहेका छन्। टावरको उत्तरतर्फ स्विमिङ पुल, चाइल्ड पार्क र स्टेडिएम निर्माणको काम पनि भइरहेको छ। बाँकी रहेका कामहरु दुई वर्ष भित्रमा सकिने जनाइएको छ।