जुम्ला। तिला गाउँपालिकाका दुर्गम बस्तीलाई यातायातको पहुँचमा पुर्याउन पक्की पुल निर्माण कार्य सुरु गरिएको छ। तिलाका ६, ७, ८ र ९ नम्बर वडाका दर्जनौ दुर्गम बस्तीलाई कर्णाली राजमार्गसँंग जोड्न रारालिहीस्थित तिला नदीमा ट्रस बेलिब्रिज निर्माण सुरु गरिएको हो।
स्थानीय सरकार सञ्चालन पश्चात तिलाका ९ वडाका ३४ वटै बस्तीमा सडक पुगेका छन्। तर तीमध्ये तिलाका ६, ७, ८ र ९ नम्बर वडामा पर्ने जुम्लाकोट, रासा, मालापानी, खोप्री, सुडी, घोडेमहादेव, पोख्री, पुरु गाउँमा सडक पुगे पनि कर्णाली राजमार्गमा जोड्न पुल नहुँदा गाउँमा यातायात पुग्न सकेको छैन। जसका कारण अहिले पनि स्थानीय पिठ्युँमै भारी बोक्न बाध्य छन्।
रारालिहीमा ३ वर्षभित्र पक्की पुल निर्माण हुने गरी गत साउनदेखि काम सुरु भएको सडक डिभिजन जुम्लाले जनाएको छ। काम साउनदेखि सुरु भएको थियो। तर त्यतिबेला आएको बाढीले क्षति पुर्याएको थियो। तत्काल एक साताका लागि काम रोकिएको छ।
उक्त पुलको हिराचन अन्जना खड्का जेभी¬ निर्माण कम्पनीले आगामी तीन वर्षभित्र झण्डै ५५ मिटर लामो पक्की पुल निर्माण सक्ने गरी ठेक्का पाएको छ। निर्माण कम्पनीसँंग १४ करोड ८४ लाख बजेटमा निर्माण सक्ने गरी तीन वर्षे ठेक्का सम्झौता भएको हो। करिब १५ करोड ४१ लाखको स्टिमेट गरिए पनि ठेक्का सम्झौता भने १४ करोड ८४ लाखमा भएको हो।
कामलाई छिटो छरितो र गुणस्तर बनाउनका लागि कार्यालयले नियमित निगरानी निरीक्षण गर्ने समेत सडक डिभिजन जुम्लाले जनाएको छ। निर्धारित समयमै पुल निर्माण सम्पन्न भई तिलाका दुर्गम बस्ती राजमार्गसंँग जोडिने स्थानीय नागरिकको अपेक्षा छ।