काठमाण्डौं। लामो प्रयास र अथक मेहनतपछि निर्माण सम्पन्न भएको सोलु करिडोर प्रसारण लाइनको शनिबार उद्घाटन गरिने भएको छ। शुक्रबार भारत भ्रमणमा जान लागेका प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले श्रव्यदृश्यका माध्यमबाट उद्घाटन गर्न लागेका थिए।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार सो आयोजना गत महिना मात्रै निर्माण सम्पन्न भएको हो। प्रधानमन्त्रीको भारत भ्रमणमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सहभागी हुनुहुने कार्यक्रम छ। सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइनको यसअघि नै परीक्षण गरिसकिएको छ।
नेपाल सरकारको लगानी र भारतीय निर्यातआयात (एक्जिम) बैंकको सहुलितपूर्ण ऋणमा निर्माण सम्पन्न भएको प्रसारण लाइन लामो विवाद, स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोगमा देखिएको समस्याका कारण धेरै जटिलता भोग्नु परेको थियो। सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुङ्गा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारण लाइनको लम्बाइ ९० किलोमिटर छ। यस्तै प्रसारण लाइनमा टावरको सङ्ख्या ३०२ वटा छ।
सोलु करिडोर प्रसारण लाइन आयोजना अन्तर्गत तिङ्गलामा १३२/३३ केभी, ३० एमभिए र ३३/११ केभी, ८ एमभिए क्षमताको सबस्टेशन निर्माण गरिएको छ। सबस्टेशन निर्माण सम्पन्न गरी २०७६ भदौ ७ देखि सञ्चालनमा छ। तिङ्ला सबस्टेशन बाटै सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङमा विद्युत् आपूर्ति भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार ठेकेदार छनोट देखिएको विवाद, सर्वोच्च अदालतको अन्तरिम आदेश, रुट परिवर्तन गर्न माग गर्दै स्थानीयबाट भएको अवरोध, जटिल भौगोलिक अवस्था लगायतका कारण आयोजना निर्माणमा केही ढिलाइ भएको थियो।
सोलु नदी जलाधार क्षेत्रमा निजी क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि पूर्वाधार तयार भएको छ। बर्खाको समयमा पूर्ण क्षमतामा चल्न नसकेको २३.५ मेगावाटको सोलु खोला र अन्य निर्माणाधीन जलविद्युत् आयोजनाको प्रसारण पूर्वाधार अभावमा विद्युत् प्रवाहको समस्या समाधानमा प्रसारण लाइनको निर्माणपछि सहज भएको छ।