कञ्चनपुर। लामो समय पश्चात पुनर्निर्माण भइरहेको मझगाँउ विमानस्थल निर्माण कार्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोधका कारण रोकिएको छ।
२०५६ सालमा सुरक्षाको कारण देखाउदै बन्द भएको कञ्चनपुरको मझागाँउ विमान स्थलको पुनः सञ्चालनका लागि गत पुस २८ मा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले शिलान्यास गरेपछि विगत एक महिनादेखि धमाधम काम भइरहेको थियो।
कञचनपुरको दोधाराचादनी नगरपालिकाको १० प्रतिशत, भीमदत्त नगरपालिकाको १५ प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र संघ सरकारको ५० प्रतिशत लागत साझेदारीमा कान्छाराम केएस जेभी निर्माण सेवाले काम सञ्चालन गरिरहेको अवस्थामा बुधवार शुक्लाफाटा मध्यवर्ति क्षेत्र अन्तर्गत अनुमति नलिई रनवे विस्तार गरेको भन्दै कामदारसहित निर्माणमा प्रयोग भएका मेशिन औजारसहित शुक्लाफाटा राष्ट्रिय निकुञ्जले कब्जामा लिएको छ।
बुधवार दिउँसो मात्रै निर्माणाधीन विमानस्थलको अवलोकन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री मानबहादुर सुनार र पूर्वमन्त्री प्रकाश रावलले रन वे विस्तारका लागि निकुञ्ज अन्तर्गतको रत्न बाटिकामा सफाइ गर्न निर्देशन दिएसँगै उक्त स्थानमा काम गर्दा कामदार लाई थुनेको र मेशिन उपकरणको साँचो निकुञ्जले कब्जामा लिएको कान्छाराम केएस जेभी निर्माण सेवाका प्रमुख ईन्जिनियर मिनराज ओझाले बताए ।
विमानस्थल सञ्चालनका लागि कुरा गर्दा स्थानीय तहसँगको छलफलमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता गरेपनि एक्कासी मेशिन र कर्मचारी नियन्त्रणमा लिएर काममा अवरोध गरेको उनले बताए ।
निकुञ्जले आफ्नो भएको दाबी गरिरहेको रत्न बाटिका विमानस्थलकै भएको र विमानस्थल बन्द भएपछि अतिक्रमण हुने डरले रत्नवाटिकाको नाममा राखिएको भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल चन्दले बताए । शुरुदेखि नै विमानस्थल निर्माण गर्न विभिन्न छलफल हुँदा निकुञ्जले सहयोग गर्ने प्रतिवद्धता गरेपनि अहिले आएर कुन प्रकारको कागज पत्रहरु खेजी गरिरहेको हो यसबारे छलफल हुने समेत उनले बताए ।
यता शुक्लाफाटा राष्ट्रिय निकुञ्ज कार्यालयले भने रत्नवाटिकाको भागाधिकार नलिई रन वे विस्तार गरेको कारण काम रोकिएको बताएको छ। उक्त जग्गा शुक्लाफाटा मध्यवर्ती क्षेत्र अन्तर्गत पर्ने भएका कारण आवश्यक प्रकृया पुरा नगरी काम हुन नसक्ने र यसबारे आवश्यक अनुसन्धान भइरहेको समेत निमित्त संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए
विमास्थलको पहिलो चरणमा रन वे टर्मिनल भवन र ट्याक्सी स्ट्यान्डलगायत आवश्यक संरचना निर्माण गर्नको कूल ४५ करोड ६६ लाख २४ हजार ७१४ रुपैयाँमा कान्छाराम केएस जेभी निर्माण सेवासँग २०८१ मघ ८ गतेभित्र सम्पन्न गरिसक्नु पर्ने गरी ठेक्का सम्झौता गरिएको थियो ।
२०३० सालमा सञ्चालनमा आएको विमान स्थल २०५६ सालमा बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन । विमानस्थलको २२ वर्षपछि पुनःसञ्चालनका लागि भइरहेको काममा पनि सरकारी अवरोधका कारण अन्यौल सिर्जना भएको छ । पटक पटक विकास निर्माणमा अवरोध गर्दै आएको निकुञ्जकै अवरोधका कारण गत वर्षदेखि कञ्चनपुरको वेलौरी कलुवापुर सडक अन्तर्गतको ढक्का चानदेव अन्तर्गतको साँढे चार किलोमिटर सडक कालोपत्रे गर्ने काम समेत अलपत्र परेको छ ।