कालीगण्डकी। पछिल्ला केही बर्षयता कालीगण्डकीको प्राकृतिक स्वरूप लोप हुँदै गएको छ। बेनी–जोमसोम–कोरला सडकखण्ड सडक विस्तार गर्ने क्रममा निस्किएका ढुङ्गा, माटो, गेगर र सडककै कारण बर्सेनि बाढीपहिरोले यसको मौलिकस्वरुपमा परिवर्तन भएको हो।
यस क्षेत्रमा सामान्य वर्षा हुँनासाथ ढुङ्गा, माटो र पहिरो खस्नाका साथै बाटोसमेत बगाएर कालीगण्डकीमा मिसिने गरेको छ। जसले गर्दा यस क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई आउजाउमा समस्या त छदैछ त्यसमा पनि आफ्नो ज्यान नै जोखीममा रहेको छ। स्थानीयका अनुसार सडकखण्डअन्तर्गत अन्नपूर्ण गाउँपालिका–३ रुप्से छहरा, काभ्रेभीर र बाँदरजुङगे भीरमा बर्सेनि ठूलाठूला पहिरो जाँदा कालीगण्डकीको जलचक्र प्रणाली नै परिवर्तन हुने गरेको छ।
वातावरणविद्हरुका अनुसार डोजर र स्काभेटरले जथाभाबी उत्खनन गर्दा कालीगण्डकी नदीको जलचक्र प्रणाली नै खल्बलिँदै गएको छ। यस स्थानका जलचर प्राणी समेत बसाइँ सर्दै गएकाले नदीको जलचक्र प्रणाली नै खल्बलिएको छ।
पछिल्लो समय मानवीय अतिक्रमणका कारण सङ्कुचित हुँदैगएको पवित्र कालीगण्डकी बचाउनका लागि युवा अभियानकर्मीले पोस्टर आन्दोलन तथा कविता शृङ्खला ‘नदी सप्तक’ अभियानसमेत गर्दै आएका छन्। सर्वोच्च अदालतले गत साउनमा नदी उत्खनन, फोहर विसर्जन नगर्न अन्तरिम आदेश जारी गरे पनि चोरी निकासी भने अझै रोकिएको छैन। जसले गर्दा यस स्थानको मौलीकता लोप हुँदै गएको छ।
यति हुँदा पनि राज्यले प्रभावकारी कदम चाल्न नसक्दा नदीको दोहन, उत्खनन, अतिक्रमण र दुर्लभ शिला शालिग्रामका साथै नदीजन्य पदार्थको चोरी निकासी भने रोकिएको छैन। जलचक्र प्रणाली परिवर्तन हुँदा प्राकृतिक र मानवीय सङ्कटसमेत बढ्न सक्ने बताइएको छ।
कालीगण्डकी नदीमाथि भइरहको अभियान अवैध दोहन विरुद्ध लक्षित छ। राष्ट्रकवि स्व माधवप्रसाद घिमिरेले विसं २०१५ मा लेखेको कविता ‘कालीगण्डकी’बाट ‘नदी सप्तक’ कवितालाई आधार बनाएर शङ्खला सुरुआत गरिएको अभियानका अगुवा आरके अदिप्त गिरीले बताए।