मोरङ। पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले अघिल्ला सरकारले कौडीका भाउमा बेचेका सम्पत्ति फिर्ता ल्याएको दाबी गरेका छन्।
मोरङ व्यापार संघको आयोजनामा शुक्रबारदेखि सुरु भएको ९ दिने ‘रमपम ट्रेड एक्स्पो–२०७८’को उद्घाटन गर्दै मन्त्री आलेले अघिल्लो सरकारले नेपालका मठमन्दिर, पशुपतिनाथ धर्मशालादेखि नारायणहिटी राजदरबारसम्म कौडीका भाउमा बेचेको आरोप लगाएका हुन्।
उनले आफू वर्तमान सरकारको मन्त्री भइसकेपछि अघिल्ला सरकारले कौडीका भाउमा विक्री गरेका सबै सम्पत्ति फिर्ता ल्याएको बताएका छन्।
मन्त्री आलेले आफू संसदका लेखा समितिमा हुँदा पनि वाइड बडी प्रकरणमा भ्रष्टाचार ठहर गरेर त्यसको फाइल अख्तियारमा पठाउन सक्षम भएको बताए। उनले भने, ‘हामी संसदका लेखा समितिमा हुँदा पनि वाइड बडी प्रकरणमा भ्रष्टाचार ठहर गरेर त्यसको फाइल अख्तियारमा पठाउन सक्षम भयौँ। अहिले त्यही सम्बन्धमा अख्तियारले ४ अर्ब ३५ करोडको मुद्दा चलाइरहेको छ । त्यस्तै वैज्ञानिक वन व्यवस्थापनका नाममा धान काटेझैँ सालका रुख काट्ने प्रावधानलाई पनि म वनमन्त्री भएका बेला रोकेँ । त्यही काम गरेपछि नेपालको वन ४० प्रतिशत भएको छ र नेपालले अन्तर्राष्ट्रिय समुदायबाट वार्षिक ३६ अर्ब रुपैयाँ रोयल्टी पाउने भएको छ ।’
उनले विराटनगर विमानस्थलको टर्मिनल भवन बनाउने कुरामा आफू सहमत भएको तर अर्थमन्त्रालयले बजेटको सुनिश्चितता नगरेको हुँदा काम अड्किएको जानकारी दिए ।
उनले अर्थमन्त्रालयले यसका लागि ३० करोड रुपैयाँ मात्र दिएको तर टर्मिनल भवन बनाउन ३ अर्ब लाग्ने बताए । अर्थबाट स्रोत सुनिश्चित नभएकै कारण विराटनगर विमानस्थलको टर्मिनल भवनको टेन्डर रद्द गर्नुपरेको उनको भनाइ छ ।
आलेले भने, ‘के मैले बाँकी २ अर्ब ७० करोड रुपैयाँ आफ्नो घरजग्गा विक्री गरेर ल्याउने हो र ?’