कास्की। पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजना र प्याराग्लाइडिङसँग सम्बद्ध विभिन्न संघसंस्थाको सहयोगमा आगामी चैत २३ देखि तीन दिनसम्म खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुन लागेको हो ।
आन्तरिक तथा बाह्यि पर्यटक प्रवर्द्धन गर्न र साहसिक खेल गतिविधिलाई चलायमान गराउन प्याराग्लाइडिङ प्रतियोगिता सञ्चालन गर्न लागिएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए ।
प्याराग्लाइडिङको एक्युरेसी विद्यातर्फ विभिन्न चार ओटा इभेन्टमा महिला तथा पुरुष खेलाडीले सहभागिता जनाउने छन् । प्रतिस्पर्धा अन्तर्गत ल्याण्डिङ् ओभरअलको प्रथम, द्वितिय, तृतिय र सान्त्वनातर्फ हुने खेलाडीले क्रमश : नगद ५०, ३०, २० र १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने अध्यक्ष भण्डारीले बताए ।
त्यसैगरी महिलातर्फ ल्याण्डिङ् विद्या अन्तर्गतको खेलमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना तर्फका खेलाडीले क्रमश : नगद ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
त्यसैगरी टिम एक्युरेसीतर्फ पहिलो, दोस्रो, तेस्रोले क्रमश स् नगद २० हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै अन्य विद्यातर्फको एक्युरेसी टेन्डम पुरुष अन्तर्गत प्रथम, द्वितिय, तृतिय र सान्त्वनतर्फ खेलाडीले क्रमश नगद ३०, २०, १० र ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
एयर सोतर्फ वेष्ट एक्रोबेटिकमा प्रथम हुनेले नगद १५ हजार, दोश्रोले नगद १० हजार र तेश्रो हुनेले नगद ५ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र गर्ने छन् । त्यसै गरी वेष्ट कस्टुमतर्फ समेत पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा वेष्ट कस्टुमतर्फ नगद १० हजार रुपैयाँ प्रदान गरिने छ ।
प्रतियोगितामा भाग लिन चैत २० गतेसम्म अनलाईनबाट नाम दर्ता गर्न सकिने आयोजकले बताएको छ ।