कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिकाले मझगाउँ विमानस्थलको स्तरोन्नतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ।
गतवर्ष उक्त नगरपालिकाले १ करोड रकम प्राधिकरणलाई उपलब्ध गराएको थियो, भने अहिले पठाएको अढाई करोड रकम सहित नगरपालिकाले अहिलेसम्म साझेदारीका लागि प्रतिबद्धता गरेको रकममध्ये ३ करोड ५० लाख रकम प्राधिकरणलाई बुझाएको छ।
भीमदत्तल नगरपालिकाले विमानस्थल सञ्चालनका लागि लाग्ने खर्चको १५ प्रतिशत साझेदारी गर्ने प्रतिबद्धता गरेको थियो, जुन प्रतिबद्धता अनुसनरको रकम मध्ये यस वर्षमा २ करोड ५० लाख विमानस्थल सञ्चालनका लागि नगरपालिकाले पठाएको भीमदत्त नगरपालिकाका नगरप्रमुखले बताए।
सुदूरपश्चिम प्रदेश सरकारले २५ प्रतिशत र दोधाराचाँदनीले १० प्रतिशत खर्च गरेर विमानस्थल सञ्चालनमा साझेदारी गरेका छन्। विमानस्थल सञ्चालनमा ल्याउन आवश्यक बाँकी ५० प्रतिशत खर्च प्राधिकरण आफैंले व्यहोर्नु पर्नेछ। २०५६ मा बन्द विमानस्थल पुनः सञ्चालन गर्ने काम अघि बढेको छ। जसले गर्दा सर्वसाधारणमा खुसी छाएको छ। लामो समयको अन्तराल पछि विमान्थल सञ्चालन हुने हुँदा खुसि भएको स्थानीयले बताए।
प्राविधिक समिति बनाएर तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले विमानस्थल पुनः सञ्चालन कार्य अघि बढाएका थिए। स्थानीय तहसहितले खर्च व्यहोर्ने साझेदारी गरेपछि प्राधिकरणले पुनः सञ्चालन कार्य अघि बढाएको हो।
विमानस्थल सञ्चालनका लागि १ हजार १ सय मिटरको धावनमार्गलाई १ हजार ६८५ मिटर पुगाउनुपर्ने समितिको सुझाव छ। ५० वर्षअघि सञ्चालनमा आएको विमानस्थल सशस्त्र द्वन्द्वकालमा बन्द भएपछि गौचरनमा परिणत भएको थियो। यस विमान स्थलको सञ्चालन पछि जनतालाई यात्रा गर्न सहज हुनेछ, भने यस क्षेत्रको प्राकृतिक सुन्दरता हेर्न जाने पर्यटकहरुलाई पनि सहज हुने आशा गरिएको छ। जसले गर्दा आर्थीक क्षेत्रमा पनि सहयोग पुग्नेदेखिन्छ।