पर्सा। त्रिभुवन राजपथअन्तर्गत वीरगञ्ज–पथलैया सडकखण्डमा सडक सीमा अतिक्रमण गरेर बनाइएका घर–टहरा भत्काइएको छ । व्यापारिक मार्ग विस्तार योजना कार्यालय पथलैयाले सडक क्षेत्र अतिक्रमण गरेर बनाएको २५ वटा घर भत्काएको हो ।
बारा र पर्साका प्रमुख जिल्ला अधिकारीसँगको समन्वयमा जनपथ र सशस्त्र प्रहरीसहित ६३ जनाको टोली सडक अतिक्रमण हटाउन खटिएको थियो ।
सडक अतिक्रमण हटाउने क्रममा स्थानीय महिला आएर विरोध जनाएपछि महिला सुरक्षाकर्मी टोलीसमेत खटाइएको थियो ।
परवानीपुरमा १९ वटा मध्ये ९ वटा र जीतपुरमा १७ वटामध्ये १६ वटा घर भत्काएर सडक सीमा खाली गरिएको व्यापारिक मार्ग विस्तार योजना कार्यालयका प्रमुख इन्जिनियर मनिषकुमार साहले जानकारी दिए ।
जीतपुरमा भने आयोजना कार्यालयले सूचनाको म्याद सकिएको भोलिपल्ट चैत १६ गतेदेखि नै अतिक्रमण हटाउन सुरु गरेको थियो। १७ वटा मध्ये १६ वटा घर भत्काइसकिएको आयोजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।
जीतपुरमा पनि यसअघि नै सडक अतिक्रमण गरेर बनाएको संरचना हटाइसकेको भए पनि कतिपय मानिसहरूले नालामा सटाएर घर बनाएका थिए।
व्यापारिक मार्ग अन्तर्गत नै ड्राइपोर्ट क्षेत्रमा पनि ३ वटा घर सडक सीमा अतिक्रमण गरेर बनाइएको छ । त्यसलाई पनि छिट्टै हटाउने योजन कार्यालयले जनाएको छ ।
सडक सीमा अतिक्रमण गरी बनाइएका संरचना हटाएपछि पथलैया क्षेत्रको फुटपाथ खाली गर्ने योजना कार्यालयका प्रमुख इन्जिनियर साहले बताए ।
चैत १ गते नै कार्यालयले पथलैया–जीतपुर–परवानीपुर–गण्डक सडक र परवानीपुर ड्राइपोर्ट–आईसीपी सडकखण्डको केन्द्रविन्दुबाट २५र२५ मिटर भित्र पर्ने सम्पूर्ण सरकारी नीजि घर टहरा, पर्खाल आदि भत्काउन १५ दिने सूचना जारी गरेको थियो ।