पर्वत। ब्राह्मण क्षेत्री लगायतले पूजाआजा गर्दै आएको मन्दिरमा पूजा गर्न रोकिएपछि दलित समुदायले आफै छुट्टै मन्दिर निर्माण गर्न सुरु गरेका छन्। आफूहरूको पूजा नचलाइएको भन्दै पर्वतको कुश्मा नगरपालिका–१ पाङमा दलित समुदायले छुट्टै मन्दिर निर्माण गर्न सुरु गरेका हुन्।
पाङको ततरकोटमा रहेको दलित बस्तीले गण्डकी प्रदेश सरकारले तत्कालका लागि विनियोजन गरेको ६ लाख रूपैयाँबाट ततरकोट तल्लो पँधेरो शिव मन्दिर निर्माण आरम्भ गरिएको मन्दिर निर्माण समितिले जनाएको छ।
पूजा आराधनाको समयमा आफूहरूले लगेको धूप बत्तीलाई बेवास्ता गर्ने, नचलाउने, दलित समुदायलाई मन्दिरमा प्रवेश गर्न अप्रत्यक्ष अवरोध गर्ने लगायतका कारण पूजाआजाको लागि छुट्टै मन्दिर बनाउनु परेको दलित समुदायले बताएका छन्।
‘पवित्र भएर एक महिनासम्म शिवजीको पूजा गर्ने, हरितालिका तीजमा व्रत बस्ने तर तीनै महिलाको धूप बत्ती नचलेपछि हामीले हाम्रो पहिचानको छुट्टै मन्दिर बनाउन लागेको समुदायले जनाएको छ।
मन्दिर निर्माण गर्दैमा जातीय विभेद अन्त्य भइहाल्छ भन्ने नभएको र आफूहरू जातीय विभेद विरुद्धको संघर्षमा भने निरन्तर लागिरहेको उनिहरु बताउछन्। स्थानीय लक्ष्मी परियारले आफूहरू ब्राह्मण, क्षेत्री र अन्य जस्तै हिन्दु धर्मावलम्बीहरू भएको भए पनि अवसर नदिइनु अन्याय भएको महसुस गरेको बताइन्।
आफूहरू हिन्दु भएपनि हिन्दुत्वको महसुस गर्न नपाएका कारण गाउँका दाजुभाइहरूलाई मन्दिर निर्माणको लागि अनुरोध गरेको बताइएको छ।
उक्त निर्माण हुने मन्दिरको नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीका अध्यक्ष शंकर गिरीले शिलान्यास गरेका छन्। त्यस अवसरमा बोल्दै उनले देशमा आएको गणतन्त्र र संघीयताले विभिन्न विभेदलाई क्रमिक रूपमा कम गर्दै लगेको बताए।