काठमाडौं। लमजुङको दोर्दी गाउँपालिकाका घरघरमा खानेपानीको धारा पुगेको छ। दोर्दी गाउँपालिकाको पहल र ‘गोर्खा वेलफेयर ट्रष्ट’को सहयोगमा श्रीमन्ज्याङ लामा गाउँका १ सय १५ घरमा मिटर प्रणालीमार्फत पानी पुर्याइएको हो।
गाउँपालिकाको लामागाउँसंगै कामचोक, खहरे, बगर, ढोडेनी, फलेनी, दैलुङ, लप्सीबोट लगायतका ठाउँमा गरी ५ सय ५८ घरमा मिटर प्रणालीमा खानेपानी पुर्याइएको छ।
दुई करोड ६१ लाख लागतमा खानेपानीको सुविधा पुगेको हो। गाउँपालिकाले संस्थाको समन्वयमा पाँच सय ५८ धारा जडान गरिसकिएको छ। २ हजार ८ सय ९३ घरमा खानेपानीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
यसैगरी, दोर्दी गाउँपालिकाका समन्वय एवं सिआरएस नेपाल र सप्रोस नेपालको संयुक्त साझेदारीमा संचालित ‘कोउँसरा बहुउपयोगी खानेपानी योजना’ अन्तर्गत दोर्दी गाउँपालिका २,अर्चलबोटको उपल्लो अलैँचेका घरमा पनि मिटर प्रणालीमा पानी पुर्याइएको गाउँपालिकाले बताएको छ।
१३ लाख ६० हजार दुई सय ७५ रुपैयाँको लागतमा उपल्लो अलैँचेका १९ घरमा नयाँ धारा निर्माण र १४ वटा पुराना धारा मर्मत गरिएको छ। यस खानेपानी योजनाअन्तर्गत ३४ घरधुरी लाभान्वित भएका छन्। २ हजार २ सय ७५ मिटर टाढा कोउँसराबाट पानी ल्याई मिटर प्रणालीमार्फत वितरण गरिएको छ।