म्याग्दी। पाखाभरी लालिगँरास फुलेर राताम्मै भएको म्याग्दीमा आन्तरीक पर्यटकको भीड लागेको छ। वरिपरि हिमशृङ्खलाको लहरले पर्यटकलाई लोभ्याउने गरेको छ। महाडको टुप्पो पुनहिल प्रख्याल पर्यटकीय स्थल हो।
अन्नपूर्ण गाउँपालिका –६ स्थित घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेपछि होटलव्यवसायीहरु उत्साहित बनेका छन्। कोरोना महामारीका कारण थला परेको पर्यटन व्यवसाय सिजन सुरु भएसँगै पर्यटकको आगमनले व्यवसायीलाई राहत मिलेको छ।
पाखाभरी फुलेको लालिगुँरासमा फोटो खिचाउन, टिकटक बनाउन र हिमालको दृश्यावलोकन गर्न यतिबेला यहाँ आन्तरिक पर्यटकको भीड लाग्नेगरेको छ। हप्ताको शुक्रबार र शनिबार सरकारी कर्मचारी र विद्यार्थीको भीड लाग्ने गरेको छ। बेनी, पर्वत, काठमाडौंं, पोखरा लगायतका ठाउँबाट आन्तरिक पर्यटक विदा मनाउन घोडेपानी र पुनहिलको भ्रमण गर्न आएपछि यहाँ चहलपहल बढेको छ।
पर्यटकको संख्या बढेपछि कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण संकटमा परेका होटेल तथा पर्यटन व्यवसायीमा आशा पलाएको बताइएको छ। पछिल्ला केही हप्ता घोडेपानी र पुनहिलमा पर्यटकको आगमन वृद्धि भएसँगै उत्साह थपिएको छ।
गतबर्षको चैत महिनादेखि घोडेपानी पुनहिल क्षेत्र सुनसान भएको थियो। अघिल्ला दुई वटा वसन्त र शरद ऋतुको याम कोरोना भाइरस सङ्क्रमणले सुनसान बनायो, यसपाली कोरोनाको संक्रमण केही घटेकाले पर्यटक आउन थालेको स्थानीयले बताए।
समुन्द्री सतहदेखि तीन हजार २ सय मिटर उचाइमा रहेको पुनहिलबाट सूर्योदय, बिभिन्न हिमाल र लालीगुँरासको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा बास बस्ने गरेको स्थानीयको भनाई छ।