काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्यूटावरको विरोध गरेर केहीले विकास निर्माणका कामको विरोध गरेको आरोप लगाएका छन्। आइतबार काठमाडौंमा पार्टीको सामाजिक सेवा केन्द्र स्थापनाको घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कांग्रेस नेता शेखर कोइरालाप्रति संकेत गर्दै केही गर्न नसक्नेहरुले विकास निर्माणको काम गर्दा पनि विरोध गर्ने गरेको बताएका हुन्।
उनले भ्यूटावरहरु हाम्रा सभ्यता, विकास र आर्थिक क्रियाकलापका केन्द्र भएको दाबी गर्दै विकासको मोडेललाई नबुझ्नेहरुले त्यसो नगर्ने प्रतिज्ञा गर्न आग्रह गरेका छन् । केहीलाई धराहरा बनाएको भतभती पोलेपनि आफूहरुलाई भने गर्वको महसुश हुने गरेको उनले बताए ।
अध्यक्ष ओलीले धरहरा एउटा भ्यू टावर भएको र त्यो राष्ट्रको पहिचान, गौरव र इतिहास भएको दाबी गरे। उनले भने, ‘अहिले एक खालको भ्यू टावर विरोधीहरुले हल्ला चलाएका छन् । मलेसियामा महाथिरले त्यो ट्वीन टावर बनाएका थिए । त्यो बनाएका बेला महाथिर पागल होकि क्या हो ? यो गरिव देशको सारा पैसा त्यहाँ लगेर खर्च गरेर भ्यू टावर बनायो भन्ने ठूलो आलोचना थियो। त्यो भ्यू टावर अहिले मलेसियाको भ्यूटावर व्यापारिक केन्द्र, अर्थतन्त्रको केन्द्र तिनै भ्यू टावरहरु हुन। अमेरिकाले भ्यू टावर बनाउँदा पनि अनावश्यक भनेका थिए, कतिपय मानिसले । त्यो भ्यू टावर सेप्टेम्वर ११ को घटनाबाट खत्तम भयो । त्यो अमेरिकाको मात्रै होईन् विश्व बजार केन्द्र थियो । मलेसियाका त्यस्तै । हामीले बनाएका भ्यू टावरहरु सभ्यताका, विकासका, हाम्रा व्यापारिक अन्य आर्थिक क्रियाकलापका केन्द्रहरु हुन् । हाम्रा पर्यटनका स्थलहरु हुन् । हाम्रो आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने कुराहरु हुन् ।’
अध्यक्ष ओलीले नेपालको सबभन्दा चर्चित भ्यूटावर धरहरा भएको दाबी गरे । उनले भने, ‘कतिको मन भतभत पोलेको छ–धरहरा बनेकोमा । अनि के त्यहाँ भात खान पाइन्छ ? त्यहाँ गहुँ फल्छ, धराहरामा । अनि के त्यहाँ कपडा बुनिन्छ ? त्यो भ्यू टावरनै हो । तर, त्यो राष्ट्रको पहिचान हो । राष्ट्रको गौरव हो । हाम्रो इतिहास हो । धेरै कुरा त्यसभित्र लुकेका छन र त्यो एउटा गन्तव्य हो । धरहरा हेर्दा हामीलाई एउटा गर्वको महशुस हुन्छ ।’