नुवाकोट। पासाङल्हामु मार्ग काठमाडौं–त्रिशूली सडकअन्तर्गतको रानीपौवा–पिपलटार खण्डको स्तरोन्तिको जिम्मा पाएको भारतीयसहितका निर्माण कम्पनी कालोसूचीमा परेका छन्। सडक स्तरोन्नतिको काममा चरम लापरबाही गरी सर्वसाधारणको आवतजावतलाई नै अवरोध गरेको भन्दै भारतीयसहितको कम्पनीलाई कालोसूचीमा राखिएको हो।
सरकारले ठेक्का तोडि कम्पनीलाई कालोसूचीमा राखेको छ भने तयाँ ठेक्का खुलाउने तयारी भइरहेको छ।
२०७७ साल असारमा सरकारले गरेको उक्त निर्णयका विरूद्धमा भारतीय निर्माण व्यवसायी दिनेशचन्द्र आर अग्रवाल र नेपाली कम्पनीहरु नागार्जुन र कोशी एण्ड न्यौपानै जे.भी पाटन उच्च अदालत पुगेका थिए ।
अदालतले त्यतिखेर अन्तरिम आदेश दिएर तत्काल कालोसूचीको निर्णय कार्यान्वयन नगर्नु भन्ने आदेश दिएपछि काम अघि बढ्न पाएको थिएन । उच्च अदालतको उक्त अन्तरिम आदेश खारेज गरिपाउँ भन्दै पुन सरकारका तर्फबाट सडक विभागले अर्को रिट हालेको थियो ।
उक्त रिट माथि अन्तिम फैसला गर्दै चैत १६ गते बुधबार उच्च अदालतका न्यायाधीशद्धय टेकप्रसाद ढुंगाना र महम्मद जुनैद आजदको संयुक्त इजलाशले रिट खारेज गरेर सरकारले लिएको निर्णय ठीक भएको ठहर गरेको छ । योसँगै भारतीयसहितका तीनै कम्पनी कालोसूचीमा परेका छन भने सरकारले रानीपौवा–पिपलटार खण्डको स्तरोन्तिका लागि पुनः टेण्डर गर्न पाउने भएको छ।
कालोसूचीमा परेपछि भारतीय निर्माण व्यवसायी दिनेशचन्द्र आर अग्रवाल र नेपाली कम्पनीहरु नागार्जुन र कोशी एण्ड न्यौपानैले अब कानुनतः तीन वर्षसम्म नेपालको सार्वजनिक खरिद क्षेत्रको टेण्डर प्रक्रियामा भाग लिन पाउने छैनन् । उनीहरुले यसअघि नै ठेक्का लिएर गरिरहेको कामलाई सम्पन्न गराउन भने कालोसूचीले बाधा पार्ने छैन ।
रानीपौवा–पिपलटार खण्डको सडक निर्माण स्तरोन्नतिको लागि उक्त कम्पनीहरुसँग २०७४ फागुन २१ गतेभित्र सम्पन्न हुने गरी २०७२ असार ७ गते ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनीहरुले तोकिएको समयमा काम गर्न नसकेपछि उनीहरुको मागअनुसार कानुनी दायराभित्र रहेर पटक–पटक म्याद थप गरिएको थियो । तर, थप भएका मितिमा पनि काम गर्नुको सट्टा विभिन्न बाहाना निकाल्ने तथा स्थानीयलाई उचाल्ने काम गर्दैै आफैं सडक निर्माणमा अवरोध सिर्जना गर्ने जस्ता काम गर्ने तथा योजनासँग गरेको लिखित सम्झौता विपरीत काम गरेपछि योजनाले २०७७ असार ९ गते मंगलबार ठेक्का तोडेर कालोसूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा लेखि पठाउने निर्णय गरेको थियो ।