सुनसरी। सुनसरीमा १५ हजार मेट्रिक टन भण्डारण क्षमताको खाद्यान्न भण्डारण गृह निर्माण गरिएको छ। नेपाल वेयर हाउजिङ कम्पनीले सुनसरीको गढी गाउँपालिका–२ औरावनीमा खाद्यान्न भण्डारण गृह सञ्चालनमा ल्याएको हो ।
यस भण्डारण गृहमा अहिले गहुँ, मकै र भटमास भण्डारण गरिने भए पनि विस्तारै अन्य खाद्यान्न पनि भण्डारण गरिने कम्पनीले जनाएको छ। भण्डारण गृह निर्माणको मुख्य उद्देश्य नै किसानले उत्पादन गरेका खाद्यान्नलाई भण्डारणको सुविधा उपलब्ध गराउनु रहेको कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार सुनसरी, पर्सा र कपिलवस्तुका औद्योगिक महत्वका शहरहरूमा पनि पनि खाद्यान्न भण्डारण गृह निर्माण भइरहेका छन् । उक्त तीन ओटै जिल्लामा समेत भण्डारण गृह निर्माणका लागि १ अर्ब ३९ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
निर्माणकर्ता कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबायोटेक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई इन्भेस्टको लगानी रहेको छ ।
पछिल्लो समय नेपाल इन्फ्राष्ट्रक्चर बैंक, मुक्तिनाथ कृषि कम्पनी, हिमालयन क्यापिटल, आईएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टले पनि कम्पनीमा लगानी गरेका छन् ।