काठमाडौं। धरहरा चढेर काठमाडौं सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ। ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म पनी जनताले अझै प्रयोग गर्न पाएका छैनन्।
गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए। उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो। गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो।
उक्त ऐतिहासिक सम्पदा पुनः निर्माणका लागि तेस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले चौथो पटक थप समय माग गरेको छ। तेस्रो पटक थपिएको समय यही चैत मसान्तमा सकिन्छ। दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पूर्णरूपमा काम सम्पन्न हुन अझै समय लाग्ने भएपछि समय थप्न आग्रह गरिएको हो।
रमन कन्स्ट्रक्सनका अनुसार कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनःनिर्माण लागि पुनः चौथो पटक समय माग गरिएको हो। नेपाली र केही भारतीय नागरिकसहित दैनिक २२० जना कामदारले अहिले नियमितरूपमा निर्माण कार्यमा जुटिरहेका छन्। धरहरा निर्माणको मुख्य काम सकिए पनि सौन्दर्य अभिवृद्धि र पार्किङको काम बाँकी भइरहेको छ। नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन्।
धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ। त्यहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ।