पर्सा। त्रिभुवनराजपथ अन्तर्गत सडक विभागको अधिकार क्षेत्रमा पर्ने रजतजयन्ती–मितेरी सडक मर्मतका लागि लगाइएको ठेक्काबारे अदालतमा रिट परेको छ। सडक विभागले ६ वर्षपछि मर्मतका लागि ठेक्का लगाएकामा रिट हालिएपछि सकडखण्ड मर्मत कार्य अलपत्र परेको हो।
सडकखण्डको १३ सय मिटर लम्बाईको सडक यसवर्ष पनि कालोपत्रे नहुने देखिएको छ ।
सडक विभाग मातहतको व्यापारिक मार्ग आयोजना पथलैयाले ३ महिनामा सक्ने गरी समा कन्स्ट्रक्सनलाई ५ करोड रुपैयाँमा मर्मतको ठेक्का दिए पनि निर्माण कम्पनीले काम शुरू गर्न सकेको छैन ।
आयोजनाले इ–बिडिङ गर्दा समा कन्सट्रक्सनलाई ठेक्का परेपछि प्रतिस्पर्धामा नआएको एक ठेकेदार कम्पनी र विशाल यादव तथा विकास झा गरी तीन जनाले टेण्डरमा मिलेमतोको आरोप लगाउँदै सर्वोच्चमा रिट हालेका छन् ।
सगमाथा इन्फ्राटेकका सञ्चालक दीपेशमान महर्जनले सर्वोच्च अदालतमा फागुन १३ मा रिट हालेका थिए । सर्वोच्चले ठेक्का यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको बताइएको छ।
सडकखण्डको १३ सयमिटर कालोपत्रे सर्वोच्चको आदेशपछि रोकिएको हो । आयोजनाले गत पुस ५ मा सडक मर्मतका लागि ३० दिनको समय राखेर ठेक्का आह्वान गरेको थियो । सो समयभित्र बिड नगरेका कम्पनीहरु समालाई ठेक्का परेको थाहा पाएपछि आयोजना कार्यालय, सडक विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी हाल्न पुगेका थिए ।
समा कन्स्ट्रक्सनका सञ्चालक जहुर आलम भने आफू काम अघि बढाउन तयार रहेको र निर्माण सामाग्री समेत कार्यस्थलमा पुर्याइसकेको बताउँछन् । काम गर्न पाए १ महिनामै पूरा गर्ने उनले बताए ।