काठमाडौं। ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले बेच्ने विद्युत भए अध्यादेश ल्याएर भए पनि निजी क्षेत्रलाई विद्युत दिने बताएकी छन्। हिमालयन हाइड्रो एक्पोको समापनसत्रमा बोल्दै मन्त्री भुसालले निजी क्षेत्रलाई लाइसेन्स दिए पनि बेच्ने विद्युत भने अहिले नभएको बताएकी हुन्।
उनले भनिन्, ‘विद्युत व्यापारको लाईसेन्सको माग गरिरहनु भएको छ तर तपाईहरुसँग बेच्ने विद्युत खोई ? बजार देखेर लाईसेन्स चहियो भनिरहनु भएको छ तर बेच्ने विद्युत छैन्।’
मन्त्री भुसालले ऐन नभएका कारण लाइसेन्स दिने कुरा कानुन मन्त्रालयमा रोकिएको भन्दै बेच्ने विद्युत भए अध्यादेश ल्याएर भएपनि लाइसेन्स दिने बताइन्।
उनले भनिन्, ‘संसद नचलेका कारण ऐन संसदबाट पास हुन सकेको छैन, कानुन मन्त्रालयले ऐन नभएको भन्दै कार्यविधि रोकेको छ, तपाईहरुसँग बेच्ने विद्युत पर्यप्तता छ भने अध्यादेश ल्याएर भए पनि विद्युत व्यापारको लाईसेन्स दिन्छौं।’
अर्ध–जलाशय र जलाशययुक्त आयोजना नबनाउदा भारतबाट महंगोमा विद्युत खरिद गर्नु परेको भन्दै त्यसको भार देशले मात्रै नभई निजी क्षेत्रलेसमेत उठाउनु परेको उनले बताएकी छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणमा भुटान, बंगलादेश, भारत र नेपालबीच भएको (बीबीआइएन) सम्झौताले विद्युत व्यापारको ढोका खोलेको भन्दै निजी क्षेत्रलाई जलाशय र अर्ध–जशाययुक्त आयोजना निर्माणमा जोड दिन आग्रह गरेकी छन् ।