काठमाडौं। काठमाडौं उपत्यका भित्रिने र बाहिरिने मुख्य नाकाका रूपमा रहेको नागढुङगा–मुग्लिन सडक सुधार र विस्तारका लागि प्रक्रिया अघि बढेको छ। सो सडक वैशाखको १५ सम्ममा ठेक्का सम्झौता गरिने गरी तयारी भएको छ।
सो सडकमा तीन प्याकेजमा काम हुन लागेको बताइएको छ । तीन प्याकेजमध्ये अहिले नागढुङ्गा–नौबिसे र नौबिसे–मलेखु सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको नागढुङ्गा–नौबिसे सडक आयोजनाका प्रमुख किरण कार्कीले जानकारी दिए।
यससँगै अहिले परामर्शदाताको पनि छनौट गर्ने प्रक्रिया अघि बढाइएको छ। नागढुङ्गा–नौबिसे सडकको लम्बाई १२ किमी र नौबिसे–मलेखु साढे ४३ किमी हो। उनले भने, “दुबै सडकको निर्माण सँगसँगै अघि बढाइनेछ।”
नागढुङ्गाबाट–नौबिसे र नौबिसे–मलेखु दुई प्याकेजका लागि हाल ठेक्का प्रक्रिया सुरु भएको छ। यसका लागि नेपाली र अन्तरराष्ट्रिय दुबै निर्माण कम्पनीले आबेदन हालेका छन्। नागढुङगाबाट नौबिसे सडक दुई वर्षमा र नौबिसे मलेखु सडक तीन वर्षमा सम्पन्न गरिने प्रमुख कार्कीले बताए।
तेस्रो ठेक्काका रुपमा रहेको मलेखुबाट मुग्लिनसम्मको पनि असारसम्ममा ठेक्का प्रक्रियामा जाने गरी तयारी भएको प्रमुख कार्कीले बताए । ठेक्कामा जान आवश्यक तयारी सकेर आयोजनाले कागजात विश्व बैङ्कलाई पठाएको थियो । उनले भने, “अहिले विश्व बैङ्कले त्यसमा अध्ययन गरिरहेको छ, सकिएपछि ठेक्कामा जान सकिन्छ।”
हाल प्रक्रियामा रहेका दुई ठेक्का वैशाख १५ सम्ममा प्रक्रियामा जानसक्ने प्रमुख कार्कीले बताए। ठेक्का सम्झौता पहिले कसैको गुनासोका लागि आशयपत्र निकालिएको छ । त्यो नभएपछि सम्झौता गर्न सकिने उनले बताए । अबको केही समयमा नै वैदेशिक सहायता समन्वय महाशाखाले सम्झौता गर्ने उनले जानकारी दिए।
सडक अधिकांश स्थानमा तीन लेनमा निर्माण गरिने भएपनि बजार ठाउँमा चार लेन हुनेछ । विस्तार नै गर्न नसकिने ठाउँमा भने दुई लेन मात्रै पनि हुनसक्ने प्रमुख कार्कीले बताए ।