काठमाडौं। करिब दुई वर्ष अवधि बाँकी हुँदा मदन भण्डारी राजमार्गको एक तिहाइ निर्माण सकिएको छ। वर्षेनी न्युन बजेट बिनियोजन भइरहँदा राजमार्ग बनाउने लक्ष्य लिइएको अवधिमा सम्पन्न गर्न चुनौतीपूर्ण देखिएको हो।
उक्त आयोजनाका अनुसार चालु आवमा सरकारले दुई अर्ब ८० करोड बिनियोजन गरेको छ। अहिलेसम्मको भौतिक र वित्तिय प्रगति ३३ प्रतिशत पुगेको छ।
यस वर्षको बजेट न्युन छ र आगामी वर्षका लागि पनि त्यही अनुपातमा छुटाउने देखिएको आयोजनाले जनाएको छ। वर्षेनी चाहिनेभन्दा अति कम मात्रै पैसा छुट्टाएको छ। आयोजना विसं २०८१।८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ। यसको जम्मा लागत ७५ अर्ब रहेको छ। हालसम्म २४ अर्ब खर्च भएको आयोजनाले जनाएको छ। सरकारले वार्षिक बजेट दुइ।तीन अर्बका दरले छुट्याउँदा सम्पन्न गर्न लामो समय लाग्नसक्ने आयोजनाले बताएको छ।
आयोजनाले हेर्ने सडकमा ३६६ किमी सडकको ठेक्का व्यवस्थापन हुन बाँकी छ। चालु आवमा आयोजनाले ९० किमी सडक निर्माणका लागि ठेक्का व्यवस्थापनको सहमति मागेको थियो। तीन।चार महिना पहिले सहमति मागिएको भए पनि अर्थ मन्त्रालयबाट अहिलेसम्म सहमति नआएको हो। वार्षिक बजेट कम छुटाउने र थप बजेट माग गर्दा आउन नसक्दा लक्ष्यअनुसार काम गर्न नसकिने आयोजनाले जनाएको छ।
आयोजनाले चालु आवमा हालसम्म एक अर्ब ५० करोड भुक्तानी गरिसकेको छ। हालसम्म आयोजनाले चार अर्ब २० करोड बराबरको काम गराइरहेको छ। चालु आवमा ८४ प्रतिशत प्रगति भइसकेको आयोजनाले जनाएको छ। यस वर्षको बजेटले लक्ष्य अनुसार सडक नै सम्पन्न नहुने तर थप पैसा हुँदा थप काम गर्न सकिने आयोजनाले जनाएको छ।
अझै दुई तिहाइ बजेट खर्च गर्न बाँकी रहेकाले यही अनुपातमा बजेट बिनियोजन गर्दा आयोजना सम्पन्न गर्न २० वर्ष लाग्नसक्ने अनुमान गरिएको छ। चालु आवका कुनै पनि सडक कालोपत्र भइसकेका छैनन्। सडकका आधारको काम (बेस)को काम भइरहेको छ। चालु आवमा ४१ किमी सडक कालोपत्रको लक्ष्य रहेको र बजेट व्यवस्थापन हुँदा सकिने आयोजनाले बताएको छ।
लक्ष्यअनुसार सडक निर्माण गर्न ठेक्का व्यवस्थापनको सहमतिका लागि अर्थ मन्त्रालयले बजेट सुनिश्चित गर्नुपर्ने छ। अर्थमा छ अर्बको सहमति मागेको र आएको छैन। अहिले ठेक्का लागि सकेकामा नौ अर्ब भुक्तानी गर्न बाँकी छ। काम गरेपछि भुक्तानी दिनुपर्छ। सडकको अधिकार क्षेत्र (राइट अफ वो)मा ठाउँठाउँमा समस्या भए पनि अहिले निर्माणको काम भइरहेको छ। निर्माणाधीन अरु सडकमा जस्तै यसमा बन क्षेत्रको समस्या भए पनि काम रोकिएको छैन। दुई लेन सडक सात मिटर र सल्जर, नालीगरेर सडकको चौडाइ ११ मिटर रहेको छ।
उक्त राजमार्गको जम्मा लम्बाई एक हजार ३९० किमी रहेको छ। त्यसमध्ये आयोजनाले ७४० किमी सडकमा निर्माणको काम गरिरहेको छ। त्यस बाहेकका बाँकी सडक अरु निकायले गरिरहेका छन्। हालसम्म २४१ किमी सडक सम्पन्न भइसकेको छ भने ७७ पुल सम्पन्न भएको आयोजनाले जनाएको छ। विसं २०७५।७६ मा शुरु भएकामा यो आयोजना २०८१।८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएको छ।