दार्चुला। त्रिदेशीय सीमा नजिकैको छांगरुस्थित नीतिकुण्डमा नेपाल प्रहरी बसेको ५१ वर्षपछि सुविधा सम्पन्न नयाँ भवन निर्माण सुरु गरिएको छ। सीमा सुरक्षा, अपराध नियन्त्रण र स्थानीयवासीको सुरक्षामा खटिएको प्रहरीका लागि नयाँ सुविधासम्पन्न भवन निर्माण सुरु गरिएको हो।
विसं २०२७ मा पहिलोपटक नेपाल प्रहरीहरु छांगरू सीतापुलमा बसेका थिए। छ महिना व्यासको छांगरू र ६ महिना दुम्लिङमा झरेर बस्नुपर्ने भएकोले गर्दा उनिहरुलाई असहज भएको भएतापनि गत वर्षबाट बाह्रै महिना छांगरुमा बस्न थालेका छन्।
बाह्रै महिना बस्ने सशस्त्र प्रहरीका लागि भवन निर्माण सुरु गरिएको यस स्थानमा अबको एक वर्षपछि नेपाल प्रहरीको पनि भवन निर्माण गरिन लागेको हो। उक्त निर्माण हुँने भवनको शिलान्यास जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी माधव विश्वकर्माका अनुसार पुरानो जीर्ण भवनमा बस्दै आएका प्रहरीका लागि दुई तले ११ कोठे भवन निर्माण सुरू गरिएको हो। निर्माण हुने भवनको ठेक्का दुई करोड भन्दा माथीको लगानीमा अबको दुई वर्षभित्रमा निर्माण सक्नुपर्ने गरी एलबी एण्ड एबी प्रालि धनगढीले गत वैशाख ७ गते सम्झौता गरेएको थियो।
यस क्षेत्रमा मङ्सिरपछि हिमपात हुने हुँदा भवन निर्माणको काम गर्न नसकिने भएकोले अहिले निर्माण व्यवसायीले जगको काम सुरु गर्ने तयारी गरेको छ। भवन निर्माणका लागि चाहिने ढुङ्गा, गिट्टी सरियाको व्यवस्थापन समेत गरिसकेको छ।
भवन निर्माणका लागि आवश्यक तीन हजार ५०० क्युफिट काठका लागि मन्त्रिपरिषद् बैठकले स्वीकृत दिएको भएतापनि सामुदायिक वनले भने काठ दिन नसकिने जनाएको छ। भवनमा काठको प्रयोग बढी हुने र छांगरुमा चिसो हुने भएका कारण न्यानो हुने गरी भवन निर्माण गरिन लागेको हो।