महोत्तरी। महोत्तरी जिल्लाको उत्तरीक्षेत्रमा पानीको संकट बढ्न थालेको छ। पानीको मुहान धमाधम सुक्न थालेपछि संकट बढ्न थालेको हो।
जिल्लाका उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिका क्षेत्रमा खानेपानीको सङ्कट बढेको हो। नदी, पानी खोल्सी, जरुवा, इनार र चापाकलसहितका पानीका स्रोतका मुहान सुक्दै गएपछि चैतमै खानेपानीको सङ्कट बढेको स्थानीयको भनाइ छ। सामान्यतया अत्यन्त राप बढ्ने वैशाख र जेठमा खानेपानीको समस्या भोगिँदै आए पनि यसपालि भने मध्य चैतपछि नै पानीका मुहान सुक्दै गएका हुन् । अब असारमा राम्रो वर्षा नहउञ्जेल खानेपानीको हाहाकार बढ्दै जाने यस भेगका बासिन्दा बताउँछन् ।
भङ्गाहा नगर क्षेत्रका ४ र ५ नं वडा बस्तीमा वर्षेनि गर्मीयाममा खानेपानीको सङ्कट पर्दै आएको छ । चुरे पहाडी काछका बस्तीमा पनि खानेपानीको समस्या बढेको छ । जरुवा पानीका मुहान सुक्दै गएपछि समस्या बढेको काछवासी बताउँछन् । चुरे पहाडी काछमा बर्दिबास नगरपालिका–३, ४, ५, १० र ११ नम्बर वडामा ३० भन्दा बढी बस्ती छन् । पाखाबस्तीका सबैको गर्मीयाममा खानेपानी सङ्कट झेल्नु समान पीडा बनेको छ ।
बर्दिवास–१, २, ३ र १४ का सघन सहरी बस्तीमा धाराबाट पनि खानेपानी झर्न निकै कम भएको बर्दिबास–२ बुद्धचोककी गृहिणी गायत्री आचार्यले बताए । त्यसैगरी खानेपानीको स्रोत इनारमात्र भएका बर्दिवास नगरपालिका–८ को हाथीलेटमा पर्ने विजय बस्तीमा पनि इनारको पानी सुक्दै गएपछि त्यहाँका बासिन्दा समस्यामा परेका छन् ।
यस बाहेक हाथीलेट बस्तीमा पनि खानेपानीका धारामा पानी निकै कम झर्न थालेको स्थानीय बासिन्दा होमबहादुर श्रेष्ठले बताए । बर्दिवासकै किसाननगर, विजलपुरा, मनहरिपुर, प्रेमनगर र पशुपतिनगरसहितका बस्तीमा धमाधम चैतमध्यमै इनार सुक्न थालेपछि वैशाख, जेठमा के हालत हुने हो भन्दै त्यहाँका बासिन्दामा पिरोलो बढेको छ
यस्तै गौशाला नगरपालिकाका बेलगाछी, भरतपुर, लक्ष्मीनिया र रामनगर एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, भूचक्रपुर, धतियाटोल र रामनगरसहितका बस्तीमा धमाधम इनार र चापाकल सुक्न थालेपछि चैत अन्तिम नहुँदै खानेपानीको सङ्कट बढेको हो ।
बर्दिवास–८ हाथीलेटको विजयबस्तीमा ५५ घरकाबीच रहेको एउटा इनार पनि चैतको दोस्रो सातामै सुक्न थालेपछि अब खानेपानीका लागि के गर्ने भन्ने चिन्ताले त्यहाँका बासिन्दा पिरोलिएका छन् ।
बस्तीका ५५ घरका बासिन्दा पानी भर्न इनारमा पुग्दा इनारभित्र पानीका लागि झारिएका डोल (बाल्टिन) पानीमा डुब्न छाडेको सो बस्तीका गृहिणी बताउँछन् ।
पछिल्ला पाँच वर्षयता इनार सुक्ने क्रम बाक्लिएको यी तीनवटै नगरपालिका (बर्दिवास, गौशाला र भङ्गाहा नगरपालिका) बस्तीका बासिन्दाको भनाइ छ । त्यसअघि लामो खडेरी पर्दा २०५४ सालको जेठमा केही इनार सुकेका सँम्झदै बर्दिवास–६ कृष्णपुरका सामाजिक कार्यकर्ता राजु महतोले पाँच वर्षयता भने इनार चैतमै सुक्न थालेका बताए ।
आफ्ना वरिपरिका इनारहरु धमाधम सुकेपछि यसक्षेत्रका बासिन्दा खानेपानीको जोहो गर्न टाढा–टाढा पुग्नु परेको छ । सरदर ५० फिट गहिराइका ५० प्रतिशत इनारको पानी तल्लो गोल ९इनार बनाउँदा लगाइने सिमेण्ट, छड लगाएर बनाइएको रिङ्ग० मा पुगी सकेको बर्दिवास–९ पशुपतिनगरका सामाजिक, राजनीतिक कार्यकर्ता सुरजसिंह कुशवाहले बताए ।
बस्तीका इनार र चापाकल धमाधम सुकेपछि खानमात्र नभई नुवाइधुवाइसँगै बस्तुभाउलाई पानी ख्वाउनसमेत निक्कै सकस परेको भङ्गाहा–४ का बासिन्दाको गुनासो छ । भङ्गाहाको करिब ५०० घरधुरी बसोबास रहेका रामनगर बस्तीका २५ प्रतिशतभन्दा बढी इनार र चापाकल सुकी सकेका सो बस्तीका भरत यादवले बताए । इनारहरु धमाधम सुकेपछि सिचाइँको अर्को विकल्प नभएका आफूहरुको बालीनालीसमेत सुक्न थालेपछि जीवन गुजारासमेत सङ्कटमा परेको रामनगर बस्तीकै अर्का किसान नारायण दाहालको दुखेसो छ ।
यसपालि राम्ररी हिउँदे वर्षा नभएको, नदी क्षेत्रमा वालुवा ढुङ्गा उत्खनन् गर्नेहरुले ठूलठूला गहिरा खाल्डा बनाएका र चुरे क्षेत्रका जलाधार क्षेत्र धमाधम पुरिँदै जाँदा इनार र चापाकलमा पानीको सतह गहिरिदै गएर चैतमध्यमै खानेपानीको हाहाकार मच्चिन लागेको विज्ञहरु बताउँछन् ।