स्याङ्जा। स्थानीय तह निर्वाचन २०७४ पछि स्याङ्जनको गल्याङ नगरपालिकाले पाँच वर्षमा चार किलोमिटर सडक कालोपत्रे गरेको छ। उक्त समयअवधिमा नगरभित्रका विभिन्न वडामा चार किलोमिटर सडक कालोपत्रे गरेको हो।
नगरपालिकाको वडा नं १ को बसिनडाँडादेखि सार्वजनिक माविसम्म १ किमि, वडा नं. २ को जिरोदेखि नयाँ मिलसम्म ९ किमि, ३ को गल्याङ बजारदेखि लल्याङसम्म १ किमि, गल्याङ्देखि तल्लो गल्याङसम्म १.५ किमि, र वडा नं. ८ को करादीदेखि खोलासम्म ०.२८ किमि गरी जम्मा १२.७८ किलोमिटर कालोपत्रे गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको वडा नं. २ को जिरोदेखि नयाँ मिलसम्मको ९ किलोमिटर सडक भने झण्डै २०/२५ वर्षअघि नै कालोपत्रे भएको बताइएको छ। गल्याङ नगरपालिका वडा नं २ का वडा अध्यक्ष युव कर्माचार्यले जिरोदेखि नयाँ मिलसम्मको ९ किमि सडक २०५३/०५४ सालमा नेपाल विद्युत प्राधिकरणले कालिगण्डकी जलविद्युत आयोजना निर्माणका समयमा कालोपत्रे गरेको नगरपालिकाले जनाएको छ।
नगरपालिकाको वडा नं ३ को गल्याङदेखि गल्कोट १.५ किमि, ८ को करादीमाथिदेखि तल्लो रिपसम्म ०.५ किमि, जिमुहादेखि लवरकोटसम्म १ किमि, तिनदोबाटे रुमाङदी पहिरोसम्म १ किमि, ९ को ढाँडखोलादेखि सम्पाससम्म ६ किमि, ११ को धोद्रे खोलादेखि ढाँडेखोलसम्म ६ किमि, एकहागेदेखि सीतभण्डारसम्म १ किमि, एकहागेदेखि गल्कोटसम्म १ किमि र भाटीदेखि बज्रेसम्म ५ किमि गरी २३ किलोमिटर बाटो ग्राभेल गरेको दाबी गरिएको छ। गल्याङ् नगरपालिकाले पाँच वर्षको अवधिमा १२.७८ किमि कालोपत्रे, २३ किमिग्राभेल र ३ सय २६.५२ किलोमिटर कच्ची गरी ३ सय ६२.९० किलोमिटर सडक निर्माण गरेको जनाएको छ।