काठमाडौं। नेपालमा पहिलो पटक सिईओ सम्मेलनको आयोजना भएको छ। नेपाल व्यवस्थापन संघ (म्यान)ले शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतिमा सीईओ सम्मेलन २०२२ को आयोजना गरेको हो।
शुक्रबार विहानैदेखि शुरु भएको सम्मेलन विभिन्न छुट्टा छुट्टै सेसनमा विभाजन गरि गरिएको थियो। सम्मेलनमा बैंक तथा वित्तीय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि गरी ७ क्षेत्रलाई समेटेर 'रिइन्जिनियरिङ म्यानेजमेन्ट: सर्भाइभल–रिभाइभल एण्ड ग्रोथ' विषयमा छलफल गरिएको छ।
विभिन्न क्षेत्रमा देखिएको समस्या र तीनको समाधानका लागि सम्मेलनबाट निस्किने निस्कर्षले नेपालको व्यवस्थापन क्षेत्रलाई थप उचाइमा पुर्याउने आयोजक संघको भनाइ छ।
सम्मेलनको औपचारिक कार्यक्रमका प्रमुख अतिथि सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यस सम्मेलनले उठाएका विषयमा हुने सामूहिक छलफलले यी क्षेत्रको विकासमा सहयोग पुग्ने बताए।
उनले सम्मेलनबाट यी सात वटै विषयमा उठेका विषयवस्तु, समस्या र समाधानका उपायहरुलाई सम्बन्धीत स्थानमा पुर्याउने र समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
अर्थ मन्त्रालयका सचिव मदन कुमार मरासिनीले व्यवस्थापन संघले आयोजना गरेको सिइओ सम्मेलन समय सान्दर्भिक भएको र यसले नेपालको व्यवस्थापन क्षेत्रमा प्रभावकारी भुमिका खेल्ने बताए। उनले नेपाल आर्थिक हिसाबले अहिले सबैले सोचे जस्तो कमजोर भइनसकेको भन्दै नआत्तिन आग्रह समेत गरेका छन्। हाल नेपाललाई श्रीलंकासँग तुलना गरेर मानिस आत्तिन थालेको भन्दै सचिव मरासिनिले अहिले नेपाललाई श्रीलंकासँग तुलना गर्नुपर्ने अवस्था नरहेको दाबी गरे।
सम्मेलनको औपचारिक कार्यक्रम पछि ७ वटा आयामहरुमा छुट्टा छुट्टै छलफल भएको थियो। प्रत्येक विषयको छलफलका लागि एक जना सहजकर्ता र ४ जना सम्बन्धित विषयका विज्ञहरु छनौट गरिएको थियो।
पूर्वाधार विषयको छलफलका लागि प्यानल सदस्यहरुमा एफ.सि.डि.ओ की शहरी पूर्वाधार सल्लाहकार इअनोर बैनब्रिड्ज, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिश चन्द्र पोखरेल, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह र लगानी बोर्डका कार्यकारी निर्देशक सुशिल भट्ट रहेका थिए।
पूर्वाधार विषयका छलफल सेसनमा नेपालको पूर्वाधार क्षेत्रको विकासमा भइरहेका कार्यहरु, यहाँ देखिएको समस्याहरु र समाधानका उपायहरु बारे छलफल भएको थियो। प्यानल सदस्यहरुले उपस्थित विभिन्न आयोजना तथा संस्थाका सिइओहरुको प्रश्नको जवाफ समेत दिएका थिए।
पूर्वाधार क्षेत्रको विकासका लागि निजी क्षेत्रको लगानी बढाउनु पर्ने र त्यसका लागि उचित वातावरण तयार गरिनु पर्ने जस्ता कुरा पनि उठेका छन्। निजी क्षेत्रको लगानी सुरक्षित हुने वातावरण तयार नभएसम्म निजि क्षेत्रले लगानीका लागि हिम्मत गर्न नसक्ने निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाइ छ। उनले निजि क्षेत्रको लगानी बढाउन सुरक्षित वातावरण तयार गर्नुपर्ने र लगानी लागत कम हुनुपर्ने बताए। उनले नेपालमा पूर्वधार क्षेत्रको विकासमा समस्या देखिनुमा लागत बढी हुनु हो भनेका छन्।
छलफलमा पूर्वाधार क्षेत्रमा हुने लगानी आवश्यकता भन्दा बाहिर भएको समेत प्रश्न उठेको थियो। आधारभुत आवश्यकताहरु नै पूरा हुन नसकिरहेको अवस्थामा अनावश्यक रुपमा देशभर भ्यू टावरहरुमा लगानी भइरहेको भन्दै प्रश्न पनि उठाइएको थियो।
सीइओ सम्मेलनमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न ३ सय भन्दा बढी सीईओले भाग लिएका थिए।
शनिबार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले म्यानेजमेन्ट अवार्ड वितरण गर्ने कार्यक्रम छ । यस वर्ष म्यानले विभिन्न तीन विधामा अवार्ड दिने भएको छ । संघमा नयाँ नेतृत्वका लागि समेत शनिबार नै निर्वाचन हुने भएको छ ।