काठमाडौं। ‘पाइल फाउन्डेशन फर ब्रिज’ नामक पुस्तक सार्वजनिक भएको छ । नेपाल सरकारका पूर्वसचिव तनुकलाल यादवद्वारा लिखित ‘पाइल फाउन्डेशन फर ब्रिज’ नामक पुस्तक आज सार्वजनिक भएको हो।
पुस्तकले नेपालका पुलहरूका लागि पाइल फाउन्डेशनसँग सम्बन्धित विषयहरूको विस्तृत दायरालाई समेटेको छ । पुस्तक सार्वजनिकीकरण समारोहमा भौतिक पूर्वाधार मन्त्रालयलका सचिव रवीन्द्रनाथ श्रेष्ठले नेपालमा तालिमलगायत पूर्वाधार अभावका कारण भौतिक संरचना अपेक्षित बलियो नभएको बताए। उनले नेपालमा यस्तो पुस्तकको अभाव रहेको भन्दै पुस्तकले मार्ग निर्देशन दिने तथा समस्याको समाधान निकाल्न महत्वपूर्ण हुने बताए।
उनले नेपालमा निर्माण व्यवसायी र इन्जिनियर सबै आफ्नो क्षेत्रमा जिम्मेवार र इमान्दार बन्नुपर्ने उल्लेख गरे। पुस्तकका लेखक यादवले पुस्तकमा नेपालमा प्रयोग गरिएका विभिन्न प्रकारका पुल फाउन्डेशनहरूका साथै वर्किङ लोड विधि प्रयोग गरी भू–प्राविधिक पाइल डिजाइन र सीमा राज्य विधि प्रयोग गरी संरचनात्मक डिजाइनको जानकारी समावेश गरिएको जानकारी दिए । पुस्तक अखण्डता र प्रतिरोध क्षमता निर्धारण विधिहरू (स्थिर, उच्च तनाव, र कम तनाव गैर–विनाशकारी गतिशील परीक्षण विधिहरू) र सफ्ट–वेयरमा नयाँ विकासहरूको सन्दर्भका साथ अद्यावधिक गरिएको छ ।
पुस्तकमा चरणबद्ध डिजाइन प्रविधि, निर्माण र गुणस्तर सुनिश्चितता, पुल निर्माण ठेक्का विधि र निर्माणको क्रममा आइपर्ने सामान्य समस्याका साथै तिनका कारण र उपायहरू पनि समावेश गरिएका छन् ।
पुस्तकमा अमेरिका, भारत र नेपालका घटना अध्ययन (केस स्टडी) गरी समग्र दृष्टिकोण प्रदान गरिएको लेखक यादवले बताए ।
पुस्तकमा नेपालका जब्दीघाट, कमला पुल, थिमुराब्रिज र घट्टेखोला ब्रिजजस्ता पुल असफल भएका घटनाहरू विस्तृत रूपमा वर्णन गरिएको छ । यसबाहेक, सेल्फ–कम्प्याक्टिङ कङ्क्रिटको परिचय, डिजाइन–बिल्ड अनुबन्ध मोडेलको अध्ययन, संस्थागत वातावरणको वृद्धि र एएचपी मोडेल सबैलाई गहिराइमा समेटिएको छ ।