काठमाडौं। भैरहवाको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमले ग्राउण्ड ह्याण्डलिङको उपकरण जडानको काम गरिरहेको छ। निर्माण पुरा भएर सञ्चालनको तयारीमा रहेको यो विमानस्थलबाट नियमित उडानका लागि दर्जनौं कम्पनीले चासो देखाएका छन्।
आउँदो वैशाखमा उद्घाटन गर्ने भनिएको यो विमानस्थलमा अहिले ग्राउण्ड ह्याण्डलिङको उपकरण जडान भइरहेको विमानस्थल प्रमुख गोविन्दप्रसाद दाहालले बताए।
प्राधिकरणले विमानस्थलमा उडान–अवतरणका लागि वायुसेवा कम्पनीलाई दर्खास्त आह्वान गरेसँगै एक दर्जन वायुसेवाले चासो देखाएको उनले जानकारी दिए। फ्लाइ दुबई, श्रीलंकन एयरलाइन्स, जजिरा एयरवेज, कतार एयरवेज, नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्स, गो एयर, गल्फ एयर, थाइ स्माइल, सलाम एयर लगायतले चासो देखाएका हुन्।
यसैगरी भियतनामको एक वायुसेवा कम्पनीले चार्टर उडानका लागि प्रस्ताव गरेको उनले जानकारी दिए।
विमानस्थल प्रयोग गरेबापतको सेवा शुल्क तिर्न नपर्ने योजना ल्याउने तयारी छ। विमानस्थलका लागि भन्सार, अध्यागमन, नेपाल प्रहरी, नागरिक उड्डयन प्राधिकरण लगायत निकायका कर्मचारी तयार छन्। उनका अनुसार प्राधिकरणबाट ८० जना र सेवा प्रदायक कम्पनीबाट २५ जना कर्मचारी परिचालन भइसकेका छन्।
सरकारले यो विमानस्थल आउँदो जेठ २ गते बुद्ध पुर्णिमाको दिनबाट औपचारिक रुपमा संचालनमा ल्याउने योजना छ। गौतमबुद्ध विमानस्थलको निर्माण सुरु हुँदा पहिलो चरणको योजनाअन्तर्गत धावनमार्ग, टर्मिनल र टावरका लागि ६ अर्ब ७२ करोड रुपैयाँ लागेको थियो। यसको अतिरिक्त प्राधिकरणको मात्रै चार अर्ब रुपैयाँ खर्च भएको बताइएको छ।