म्याग्दी। म्याग्दीस्थित गण्डकी प्रदेशकै प्रमुख पर्यटकीयस्थल घोडेपानी जोड्ने पोखरेबगर–घोडेपानी सडक निर्माणमा भएको ढिलासुस्ती भएको छ। कालोपत्र, ढलान र ग्राभेल गरेर स्तरोन्नति गर्ने लक्ष्यसहित चार वर्षअघि सुरु भएको सडक निर्माण कार्यमा ढिलाइ भएको हो।
तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले विसं २०७५ मङ्सिरमा सुरु गरेको १८ किलोमिटर ५४० मिटर दुरीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–फलाते हुँदै पर्यटकीय बस्ती घोडेपानी नजिकको चित्रे जोड्ने सडकको निर्माण २०७७ जेठ २२ गते सक्ने सम्झौता थियो ।
सडक निर्माण अधुरो हुँदा शिख र घारका दुई हजार ५०० घरधुरीका बासिन्दासहित दैनिक सयौंको संख्यामा गाडी तथा मोटरसाइकलमा घोडेपानी जाने आउने पर्यटकलाई सास्ती भएको स्थानीय बताउँछन्।
जिरोदेखि १६ किमी दुरीको सडक विस्तार, नाली र पर्खाल बनाएर अधिकांश ठाउँमा ढलान, सोलिङ र कालोपत्र गर्ने बेस बिछ्याएका ठेकेदारले सात हजार २२१ घनमिटर मेसिनरी र ग्यावियन पर्खाल लगाउने सम्झौताअनुसारको काम सकेपनि थप काम गर्न भेरियसन अर्डरका लागि गरिएको प्रस्ताव स्वीकृत नभएका कारण देखाएर घोप्टेखर्कदेखि चित्रे खण्डमा प्रारम्भिक चरणको कामसमेत गरेका छैनन् ।
मोतीदान–जयमाता जेभीले रु २७ करोड ९१ लाख ३५ हजारमा ठेक्का लिएको यो सडकको हालसम्मको भौतिक प्रगति ७२ प्रतिशत छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण खारेज भएपछि कास्कीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा हस्तान्तरण भएको यो सडकको चौथो पटक म्याद थपिएको म्याद यही चैत महिनामा सकिँदैछ ।
निर्माण व्यवसायीले पर्याप्तमात्रामा मजदुर र उपकरण परिचालन गर्न नसक्नु, आयोजनाका प्रमुख छिटोछिटो परिवर्तन हुनु तथा पछिल्लो समय प्रस्ताव गरिएको भेरियसन अर्डरको प्रस्ताव स्वीकृति नहुनु ढिलासुस्तीका कारण हो ।