काठमाडौं। एकै दिन २५ सय भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन्। शनिबार अर्थात् अप्रिल ९ तारिखमा दुई हजार ५९३ विदेशी पर्यटक नेपाल भित्रिएका हुन्।
कोरोना महामारीको अढाई वर्षपछि उक्त संख्या सबैभन्दा धेरै रहेको अध्यागमन विभागले जनाएको छ। विगत महिनाहरुमा भन्दा मार्च महिनामा समेत पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको र शनिबारको तथ्याङ्कले कोभिड–१९ महामारीले सुस्ताएको नेपालको पर्यटन क्षेत्र बिस्तारै पुरानै गतिमा जान थालेको अध्यागमन विभागले बताएको छ।
उक्त मार्च महिनामा ४२ हजार छ जना पर्यटक नेपाल भित्रिएको अध्यागमन विभागले तथ्याङ्क सार्वजनिक गरेको छ। गत वर्षको मार्च महिनामा १४ हजार ९७७ जना मात्र पर्यटक नेपाल भित्रिएका थिए। पर्यटकको संख्यामा वृद्धि भएसँगै मुख्य पर्यटकीय क्षेत्र काठमाडौं, लुम्विनी, सौराहा, पोखरालगायतका स्थानका होटल भरिभराउ भएको व्यवसायीहरुले जनाएका छन्।
दुई वर्षसम्म पर्यटक आगमन शून्य जस्तै भएपछि होटल र पर्यटन व्यवसाय ठप्प भएको थियो। विभागको तथ्याङ्कअनुसार मार्च महिनामा नेपाल भित्रिने पर्यटक मध्ये सबैभन्दा धेरै सार्क मुलुकबाट ४२.०४ प्रतिशत रहेको छ।
धेरै पर्यटक आउने देशहरु मध्ये युकेबाट ९.५९ प्रतिशत अर्थात चार हजार २९ जना, अमेरिकाबाट ११.६६ प्रतिशत अर्थात चार हजार ८९६ जना, अष्ट्रेलिया ३.४४ प्रतिशत एक हजार ४४४ जना, जर्मनबाट ४.३३ प्रतिशत एक हजार ११७ जना र फ्रान्सबाट ३.८७ प्रतिशत एक हजार ६२५ रहेका छन्।
पदयात्रासँगै पर्वतारोहणमा समेत यस वर्ष रूससहित ४२ देशका आरोहीले आरोहण अनुमती लिएको पर्यटन विभागले जनाएको छ।