नेपालमा निर्माण व्यवसायीलाई काम गरे बापत नेपाल सरकार, जिल्ला वा स्थानीय, सरकारले निर्धारण गरेको दररेटमा १५ प्रतिशत फाइदा वा ओभरहेड खर्च राखेर त्यसैका आधारमा कुनै पनि कामको स्टमेट गरी बोलपत्र आह्वान गरेको हुन्छ । तर निर्माण व्यवसायीहरुले तोकेको भन्दा ४५–५० प्रतिशत कममा ठेक्का कबोल गर्छन् । सरकारले दिएको १५ प्रतिशत फाइदा घटाउँदा पनि निर्माण व्यवसायीहरुलाई ३० देखि ३५ प्रतिशत घाटा लाग्ने गरेको देखिन्छ । निर्माण व्यवसायीले यति कम रेटमा ठेक्का किन कबोल गर्छन् ? यति ठूलो घाटा खाएर काम गर्न उनीहरुलाई कसरी सम्भव होला ? यो आम सर्वसाधारण मानिसको चासोको विषय हो । यी नै प्रश्नको जवाफ खोज्ने क्रममा जय धनन्जय निर्माण सेवा प्रा.ली का प्रबन्ध निर्देशक हरिप्रसाद रिजालसँग निर्माणपाटीले गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
किन हुन्छ लो बिडिङ ?
–नेपालमा सार्वजनिक खरिदका लागि बनाइएको नियम अनुसार सबैभन्दा लो बिडिङ गर्ने अर्थात सबैभन्दा कम मूल्यमा काम गर्ने कबोल गरेको कम्पिनी वा व्यक्तिलाई काम दिने गरिन्छ । त्यसैले लो बिडिङ हुन्छ ।
जिल्ला दर रेट के को आधारमा तयार गरिन्छ ?
–जिल्ला दररेट अर्थात कुनै पनि निर्माणको काम गर्न लगाइने सामान कच्चा पदार्थ, औजार, मानव स्रोत र साधनको खर्च हिसाब गरि सो निर्माण गर्न लाग्ने कूल रकम नै जिल्ला दर रेट हो । जिल्ला दररेट प्रत्येक जिल्लामा सामान ढुवानी, ज्याला खर्च, भौगोलिक कठिनाइ आदिका आधारमा सामान, ज्याला र अन्य आवश्यक स्रोत र साधनको फरक दर पर्ने भएकाले प्रत्येक जिल्लाको प्रत्येक कामका लागि फरक जिल्ला दररेट प्रत्येक वर्ष कायम गरिन्छ । सो काम जिल्ला प्रशासन कार्यालयले गर्छ ।
इस्टमेट दर भनेको के हो ?
–कुनै काम गराउन लाग्ने सो जिल्ला प्रशासन कार्यालयले तोकेको दररेट र सो काम गर्न आउने कम्पनी वा व्यक्तिलाई आवश्यक पर्ने नाफा, आन्तरिक खर्चसहितको जम्मा कूल रकम हो । सामान्यतया जिल्ला दर रेटमा करिब १५ प्रतिशत थप नाफा वा ओभरहेड खर्च सहित आन्तरिक खर्च राखि इस्टमेट रेट तयार गर्ने गरिन्छ ।
निर्माण व्यवसायीले इस्टमेट भन्दा करिब ५० प्रतिशत कम सम्मका ठेक्का कबोल गर्ने गरेको पाइन्छ । त्यो कसरी सम्भव छ ?
– निर्माण व्यवसायीले कम दररेट कबोल गर्नुका धेरै वटा कारणहरु छन् ।
कारण १– निर्माण क्षेत्रको अवस्था
जिल्ला दररेट कायम गर्दा सो जिल्लाको सबैभन्दा अफ्ट्यारो, महंगो र काम गर्न असज भएको ठाउँमा काम गर्दा लाग्ने लागत हिसाब गरिएको हुन्छ । निर्माणको कामका लागि सबै सामाग्री किनेर ल्याउनु पर्ने गरी हिसाब गरिएको हुन्छ । तर त्यसै जिल्लामा सबै ठाउँमा त्यस्तो नहुन सक्छ । तर इस्टमेट तयार गर्दा सबैभन्दा महंगो ठाउँमा निर्माण गर्नु पर्दाको जिल्ला दररेट अनुसार इस्टमेट गरिन्छ ।
उदाहरणका लागि काठमाडौं जिल्लाको न्यरोडमा निर्माणको लागि इस्टमेट गरेको लागत र काठमाडौं जिल्लाकै नागार्जुन क्षेत्रका लागि गरिएको इस्टमेट एकै हुन्छ । न्यरोडमा सामान ढुवानी राति ७ वा ८ बजे पछि मात्र गर्न पाइन्छ, मजदुरलाई खानेबस्ने व्यवस्था महंगो पर्छ । दिनको समयमा गाडीको चाप अत्याधिक हुँदा राति मात्र काम गर्नु पर्ने हुन्छ र सो को खर्च बढी हुन आउँछ । सोही काम नागार्जुन क्षेत्रमा गर्दा मजदुरलाई खाना बस्न केही हदसम्म सस्तो, ढुवानी गर्न सहज, काम गर्न सहज हुने हुँदा इस्टमेट भन्दा केही कम रेटम निर्माण व्यवसायीले ठेक्का कबोल गर्छन् ।
कारण २– निर्माण सामाग्रीको उपलब्धता
जिल्ला दररेट कायम गर्दा जिल्लामा कुनै कच्चा पदार्थ अर्थात निर्माण सामाग्री उपलब्ध नगर्दा कहिँकतैबाट खरिद गरेर ढुवानी गरेर ल्याउनु पर्ने हुन सक्छ भनेर दररेट राखिएको हुन्छ । तर निर्माण गर्न तोकिएको साइटमा नै निर्माण सामाग्री विषेश गरि गिट्टी, बालुवा, ढुंगाको स्रोत हुन सक्छ । त्यसलाई प्रयोग गर्ने गरी निर्माण कम्पनीले सोको रेट केही घटाउने गर्छन् ।
उदाहरणको लागि काठमाडौं जिल्लाको न्यरोडमा एउटा ढुंगाको पर्खाल लगाउने दररेट र काठमाडौं जिल्लाकै नागार्जुन क्षेत्रमा पर्खाल लगाउने दररेट एउटै हुन्छ । न्यरोड साइटमा ढुंगाको पर्खालका लागि ढुंगा किनेर ढुवानी गरेर ल्याउनु पर्छ भने नागार्जुन क्षेत्रमा पर्खालको जग खन्ने क्रममा नै ढुंगा निस्किन सक्छ अथवा नजिकै रहेको खोला वा खानीबाट ल्याउन सकिन्छ । यसले गर्दा सामाग्रीको खर्च कम हुन्छ र निर्माण व्यवसायीले नागार्जुन जस्तो क्षेत्रमा काम गर्दा कम रेटमा कबोल गर्छन् ।
कारण ३ –निर्माण व्यवसायीको आफ्नै समस्याका कारण
निमाण क्षेत्रमा काम गर्ने निर्माण व्यवसायीले आफ्नो ठूलो लगानी गरेर स्रोतसाधन जुटाएका हुन्छन् । निर्माण औजार र उपकरणमा बैंकबाट ऋण निकालेर लगानी गरेका हुन्छन् । काम गर्दै जाँदा विभिन्न राजनीतिक, सामाजिक, आर्थिक कारणले काम गरिरहेको निर्माण साइटमा अवरोध आउने, सरकारको नीति नियम परिवर्तन, समयमा निर्णय नगर्ने परिपाटिले निर्माण व्यवसायीको निर्माण कार्य रोकिने, सरकारले समयमा भुक्तानी नदिने लगायतका समस्याले आफूसँग भएको मेसिनऔजारको काम नहुने र सो को किस्ता तिर्न समस्या, खरिद गरी ल्याएका सामाग्रीको भुक्तानी गर्न नसक्ने अवस्था सृजना हुन्छ र त्यसैका सामाधानका लागि अर्कै ठेक्का पारेर त्यसको पेश्कीले आफ्नो समस्या समाधान गर्ने आशयले पनि कम रेटमा ठेक्का कबोल गर्छन् ।
कारण ४–कार्य अनुभव प्रमाण पत्रको लागि
केही निर्माण व्यवसायीले ठूलो रकमको काम गर्दा त्यसको प्रमाण पत्रले भविष्यमा अझै ठूला रकमका ठेक्का हात पर्न सक्ने आशामा आफ्नो कार्य अनुभवका लागि पनि कम रेटमा कबोल गरेर ठेक्का पार्ने गरेका छन् ।
कारण ५–निर्माण व्यवसायीको बदमासी
केही थोरै निर्माण व्यवसायीले एउटा ठेक्का पार्ने र सो ठेक्काको पेश्कीले अन्य क्षेत्र घर जग्गा, सेयर बजारमा लगानी गर्ने गरेका छन् । यसो गर्दा चालु साइटमा लगानीको अभाव हुन जान्छ र त्यो ठेक्काको लागि लागानी व्यवस्थापन गर्न अर्को ठेक्काको कम दररेटमा काबोल गर्छन् र त्यसको पेश्कीले आफ्नो समस्या समाधान गर्छन्।