काठमाडौं। निर्माणाधिन काठमाडौं धादिङ जोड्ने नागढुंगा–सिस्नेखोला सुरुङमार्गको समग्रमा आयोजनाको कुल प्रगति ४८.५ प्रतिशत पुगेको छ। आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत पुगेको छ भने वित्तीय प्रगति ४३ प्रतिशत र समग्र प्रगती ४८.५ प्रतिशत पूरा भएको हो।
आयोजनाले केही दिनअघि प्रगती विवरण सार्वजनिक गर्दै भनेको छ, “काठमाडौं र धादिङ दुवैतर्फ मुख्य सुरुङमार्ग १ हजार १ सय ६ मिटर र निकासी सुरुङमार्गको १३ सय ८४ मिटर सुरुङ खन्ने काम पूरा भएको छ।” मुख्य सुरुङमार्गको फिनिसिङ अर्थात कंक्रिट लाइनिङको काम सुरु गरिएको आयोजनाले जनाएको छ। सुरुङ मार्ग छेड्ने कामसँगै आयोजनाले कंक्रिट लाइनिङ(फिनिसिङ)कोकाम समेत तीव्रताका साथ अघि बढाएको हो।
हालसम्म मुख्य र सहायक सुरुङ गरी २६ सय ६४ मिटर सुरुङ खन्ने काम सम्पन्न भएको प्रगति विवरणमा आयोजनाले सार्वजनिक गरेको छ। आयोजनाको अघिल्लो महिना कुल भौतिक प्रगति ४६ प्रतिशत पूरा भएको थियो। अघिल्लो महिनासम्म काठमाडौं र धादिङतर्फ दुवै गरी मुख्य सुरुङमार्गको ९ सय ९५ मिटर, निकासी गर्न सुरुङमार्ग १३ सय ६७ मिटर लगायत गरी कुल २५ सय ३२ मिटर सुरुङ छेड्ने काम सम्पन्न भएको थियो।
गत वर्षको ७ पुसबाट सुरुङ छेड्ने काम थालिएको थियो। ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०७६ कात्तिक ४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले २.६८ किलोमिटर लम्बाईको सुरुङमार्गको शिलान्यास गरेका थिए। लम्बाई २.६८ किमी, चौडाई ३.५ किमी, दुवैतर्फ ०.५ मिटर पानी बगाउने नाली, एप्रोच मार्ग, पूर्व लम्बाई २.३२ किमी, पश्चिम लम्बाई ०.५६५ किमी निर्माण हुने छन्। कोभिड–१९ र आन्तरिक तयारीका कारण केही ढिलो भएको थियो। २४ सै घण्टा करिब ५ सय ८० प्राविधिक जनशक्तिसहितको टोलीले सुरुङमार्ग खन्ने काम भइरहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए।
नेपाल सरकारको ४ अर्ब ८० करोड रुपैयाँ र जापान सरकारको १५ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरी कुल करिब २० अर्ब ६० करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो।