२२० केभी कोसी करिडोर प्रसारणलाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको काम पूरा भएको छ।पहिलो प्याकेज अन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर,बानेश्वर हुँदै तुम्लिङटारसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गर्ने कार्य पूरा भएको हो ।
नेपाल विद्युत प्राधिकरण र भारतीय एक्जिम बैकद्वारा धनकुटाको हिलेमा संयुक्त कार्यक्रम आयोजना गरी पहिलो प्याकेज अन्तर्गतको प्रसारणलाइन निर्माण पूरा भएको घोषणा गरिएको छ।
करिडोरको पहिलो प्याकेजको सो प्रसारणलाइन निर्माण गर्न भारतीय कम्पनी कलपत्रु पावर ट्रान्समिसन लि सँग २०१६ मा ठेक्का सम्झौता गरिएको थियो। पहिलो प्याकेजको अनुमानित लागत करिब ४अर्ब रहेको छ।
उक्त प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशकले प्रसारणलाइन निर्माणपछि प्रदेश नं १ मा विद्युत प्रसारण तथा वितरणका लागि मेरुदण्ड तयार भएको बताए । कोसी करिडोर र कावेली करिडोर प्रसारणलाइनलाई लिंक गर्न लागिएको जानकारी दिँदै उनले आयोजनाअन्तर्गतका सबस्टेसनहरुको निर्माण सम्पन्न भएपछि यस क्षेत्रको विद्युत आपूर्ति गुणस्तरीय र विश्वसनीय हुने बताए।
नेपाल र भारतबीचको सहकार्यका लागि ऊर्जा प्रमुख क्षेत्र रहेको बताउँदै भारतीय दूतावासकी उपप्रमुख खाम्पाले भारतले जारी गरेको क्रस बोर्डर विद्युत व्यापार निर्देशिकाका बमोजिम नेपालले भारतबाट विद्युत खरिद गर्न मात्र नभएर बिक्री गर्न समेत पाउने बताइन् ।
अरुण र तमोर नदी र तिनीहरुका सहायक नदीहरुबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय प्रसारण ग्रिडमा आवद्ध गर्न निर्माणाधीन कोसी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो। एक नम्बर प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोशी करिडोरको निर्माण गरिएको हो।
संखुवासभाको तिरतिरेमा अहिले रहेको ३३ केभी लाइनलाई कोशी करिडोर प्रसारणलाइनमा जोडी सुनसरीको धरान उपमहानगरपालिका–१७ स्थित चतरा–धरान ३३ केभी लाइनमा ल्याइएको छ । प्राधिकरणले निजी क्षेत्रका २८ आयोजनाको ५१६ मेगावाट विद्युत यही प्रसारणलाइनमा जोड्ने गरी विद्युत खरिद सम्झौता पीपीए गरिसकेको छ । ती आयोजना निर्माणको विभिन्न चरणमा छन् ।