मोरङ। मोरङको उर्लाबारी नगरपालिका–१ र मिक्लाजुङ गाउँपालिका–६ को सिमानास्थित मिक्लु खोलामा प्रदेश र संघीय सरकारले ५० मिटरको दूरीमा छुट्टाछुट्टै दुई पुल निर्माण गरिरहेका छन् । प्रदेश सरकारले किसान चोक–टाँडी–आइतबारे–रमिते–रवि सडकअन्तर्गत र संघीय सरकारले मदन भण्डारी राजमार्गअन्तर्गत छुट्टाछुट्टै पुल निर्माण गरिरहेका हुन् ।
प्रदेश सरकारको सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतको पूर्वाधार विकास कार्यालय मोरङले ७ करोड २५ लाख ४९ हजारको लागतमा २०७६ वैशाख १० मा ठेक्का सम्झौता गरेर पुल निर्माण गरिरहेको छ ।
महावीररकिरातेश्वर जेभीले पुल निर्माणको काम अन्तिम अवस्थामा पुर्याएको छ । पुल निर्माणको काम सम्पन्न भएर ग्याबिन निर्माणको काम अन्तिम अबस्थामा रहेको र पुलसम्म पहुँचका लागि सडक निर्माण काम भइरहेको पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशील श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार फुटपाथसहितको १० दशमलव ५० मिटरको दुई लेनको ८६ दशमलव ६० मिटर लामो आरसीसी बक्स पुल निर्माण अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारले बनाएको पुलभन्दा ५० मिटर दक्षिणमा मदन भण्डारी राजमार्ग आयोजनाले १२ करोडको लागतमा रसुवारइलाइट जेभीलाई ठेक्का दिएर १ सय २० मिटर लामो र ११ मिटर चौडाइको अर्को पुलको जग निर्माण गरिरहेको छ ।
मदन भण्डारी राजमार्ग आयोजनाका इन्जिनियर सजित शर्माका अनुसार आयोजनाअन्तर्गतको पुलको तीनवटा पिलरको जगमध्ये दुईवटाको सकेर तेस्रोमा जग हाल्ने काम भइरहेको छ । ‘हामीले निर्माण गरिरहेको पुलको सर्भे डिजाइन हुनुभन्दा अगाडिदेखि नै प्रदेश सरकारले पुल निर्माण गरिरहेको थियो,’ उनले भने, ‘एउटा पुल भएकै ठाउँमा अर्को पुल निर्माण गर्नुपर्ने आवश्यकताका बारेमा नीतिगत विषय भएकाले यसबारेमा नीति निर्माणकर्तालाई नै जानकारी हुन्छ ।’ शर्माले पुल निर्माणको २५ प्रतिशत काम सकिएको बताए ।
प्रदेश १ का प्रदेशसभा सदस्य कुशल लिम्बूले प्रदेश सरकारले पुल निर्माण गरिसकेको अवस्थामा संघीय सरकारले अर्को पुल निर्माण गरेर अनावश्यक खर्च गरिरहेको गुनासो पोखे । ‘बजेट अभाव भएका बेला प्रदेश सरकारले एउटा पुल निर्माण गरिसकेकै ठाउँमा अर्को पुल निर्माण गरेर अनावश्यक खर्च गर्नु नाजायज कार्य हो,’ उनले भने, ‘मदन भण्डारी राजमार्ग आयोजनाले कि त प्रदेश सरकारले निर्माण गरेको पुल राजमार्गको पुलले बहन गर्ने भार क्षमता र मापदण्डको छैन भने प्रमाणित गर्नु पर्यो वा अर्को पुलको निर्माण काम बन्द गरेर अनावश्यक बजेट खर्च रोक्नु पर्यो ।’
सडक विभागका महानिर्देशक शिवहरि सापकोटाले प्रदेश सरकारले निर्माण गरेको पुल राजमार्गको मापदण्डअनुकूल नभएकाले अर्को पुल निर्माण गर्नुपरेको दाबी गरे । सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय प्रदेश १ का सचिव मोहनराज चापागाईंले प्रदेश सरकारले निर्माण गरिरहेको पुल र मदन भण्डारी राजमार्ग आयोजनाले निर्माण गरिरहेको पुलको डिजाइन मात्रै फरक रहेको तर मापदण्ड समान भएको बताए ।
‘मदन भण्डारी राजमार्ग आयोजनाले पाइलिङ डिजाइनमा पुल निर्माण गरिरहेको र हामीले मल्टिसेल डिजाइनमा पुल निर्माण गरेका छौं,’ उनले भने, ‘दुवै पुलको भारवहन क्षमता समान भएको र दुई लेनको भएकाले एउटा पुल हुँदाहुँदै अर्को पुल निर्माण गर्नुको औचित्य छैन ।’
संघीय सरकारअन्तर्गतको मदन भण्डारी राजमार्ग आयोजनाले प्रदेश सरकारले निर्माण गरेकै ठाउँमा अर्को पुल निर्माण गर्नुले प्रदेश सरकारको कामलाई बेवास्ता गरेको सचिव चापागाईंको आरोप छ । ‘मदन भण्डारी राजमार्ग आयोजनाले पुल निर्माण सुरु गर्नै लागेका बेला यसअघिका सडक विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई प्रदेश सरकारले पुल निर्माण गरिसकेकाले मिक्लु खोलामा अर्को पुल निर्माण नगर्न आग्रह गरेको थिएँ,’ उनले भने, ‘अनावश्यक खर्चमा अर्को पुल निर्माण गर्नु प्रदेशलाई नपत्याउनु हो ।’ सडक, पूर्वाधार तथा सहरी विकासमन्त्री हिमाल कार्कीले प्रदेश सरकारले तत्काल संघीय सरकारले पुल निर्माणको काम रोक्नुपर्ने बताए । कान्तिपुरबाट